१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

वैशाख ११ गते पुनः विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री गिरी



दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन गएको चैत १२ गते फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालले जानकारी दिनुभयो ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

मुख्यमन्त्री गिरीले यसअघि गएको माघ ५ गते विश्वासको मत लिनुभएको थियो । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८० सोमबार ००:००  ५ : ३९ बजे