२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

संजय गुप्ताविरुद्ध मुद्धा दर्ता, नगरका कर्मचारी आन्दोलित



कपिलवस्तु ।
कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय गुप्ता विरुद्ध मुद्धा दर्ता गरेको छ । उपमेयरका श्रीमानको ज्यादती विरुद्ध विगत चार दिन देखि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

उपमेयरका श्रीमानले कर्मचारीहरुलाई थर्काउने, धम्क्याउने, गालीगलौज गर्ने, तथा आफूले भने अनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिएको भन्दै शुक्रबार देखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

पेनडाउन देखि लिएर जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेपछि प्रहरीले बाध्य भएर सोमबार सार्वजनिक मुद्धा दर्ता गरेको छ । मुद्धा दर्तासंगै गुप्ता विरुद्ध पक्राउ पूर्जी लिएर प्रहरीले खोजिकार्य जारी राखेको छ ।

कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी मीनबहादुर घलेले कर्मचारी तथा नगरपालिका कार्यपालिकाकै निर्णय भई आएको उजुरीको आधारमा मुद्धा दर्ता गरिएको बताएका छन् ।

चुनाव जितेको अर्को दिन देखि उपप्रमुख सुनिताको पदको अघोषित शासन चलाउदै आएका संजय गुप्ताले उपप्रमुखको हैसियतले हुने जुनसुकै कार्यक्रम, निति, योजना निर्माण तथा अनुगमनमा समेत हस्तक्षेप गर्दै आएका छन् ।

नगरपालिका भित्र संचालन हुने योजनाहरुको अनुगमन संयोजक उपप्रमुख गुप्ता भएपनि श्रीमानले अनुगमन गरेर ठेकेदार वा उपभोक्तासंग सेटिङ्ग नमिलेसम्म उनीहरुको योजना पास हुँदैन । जसका कारण नगरपालिकामा चरम विवाद बढ्दै गएको छ । योजनाको मूल्यांकन गर्दा प्राविधिक कर्मचारीहरुलाई धम्क्याउने र उपमेयरका श्रीमानले भनेसरी योजनाको मूल्यांकन तलमाथि नगरे गालीगलौज समेत गर्ने गरेका छन् ।

आफूले भनेका व्यक्तिहरुलाई उपभोक्ता समितिमा नराखे योजना सम्झौतामै अवरोध गर्ने, कमिशनमा नयाँ नयाँ योजनामा बजेट हाल्ने देखि लिएर नगरकार्यपालिका वैठकहरुमा समेत उपमेयरका श्रीमानले अवरोध तथा हस्तक्षेप गर्दै आएका थिए । अरु त अरु पालिकाले लगाएको नदीजन्य पदार्थ ठेक्कामा समेत उपमेयरका श्रीमान गुप्ताले ठेकेदारसंग अनुगमनमा नाममा मासिक रु एक लाख रुपैयाँ उठाउँदै आएका थिए ।

प्रहरीले मुद्धा दर्ता गरि खोजतलास व्यापक बनाएको थाहा पाएपछि उपमेयरका श्रीमान गुप्ता भारत तर्फ हानिएका छन् ।

पारिवारिक श्रोतका अनुसार धिरज संजय आफन्तकहाँ लखनउ गएको र असार मसान्त पछि मात्र आउने बताइएको छ । यसै बीच असार मसान्तको चटारो र हालै फुकुवा भएको नागरिकता कानून अनुसार वडा तथा नगरपालिकामा सेवाग्राहीको चापलाई ध्यानमा राख्दै कर्मचारीहरुले आन्दोलनलाई आंशिक रुपमा फिर्ता लिएका छन् ।

“मंगलबार देखि हातमा कालोपट्टि बाधेर काम गर्नेछौ, जनतालाई सास्ती दिनु हुँदैन भनेर काममा फर्कियौ” लेखा अधिकृत बलराम न्यौपानेले भने ।

प्रकाशित मिति : १२ असार २०८० मंगलबार ००:००  ९ : १६ बजे