१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेभित्र बिस्फोट हुन्छ : झलनाथ खनाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ ।

बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले) भित्र बिस्फोट र बिद्रोह हुने बताउनुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउनुभयो ।

नेता खनालले एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गर्नुभयो । उहाँले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताउनुभयो । उहाँले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताउनुभयो ।

नेता खनालले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताउनुभयो । उहाँले एमाले राप्रपा, लोसपा र कांग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताउनुभयो । उहाँले एमाले भयानक अलमलमा रहेको टिप्पणी गर्नुभयो ।

नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उहाँले बताउनुभयो । उहाँले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताउनुभयो ।

नेता खनालले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले आफूहरु आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभयो ।

प्रकाशित मिति : २० भाद्र २०८० बुधबार ००:००  ८ : ०६ बजे