१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कहाँ के गर्छन् सुवास नेम्वाङका छोराछोरी ? कान्छा छोरा बाबुको बिँडो थाम्दै



काठमाण्डौं ।
मंगलबार २६ भदौ बिहान संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भयो । राति हृदयघात भएर त्रिवि शिक्षण अस्पताल र्पुयाइएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । तर, त्यसको दुई दिनपछि अर्थात बिहीबार मात्र उनको अन्त्येष्टि भयो ।
दुई छोरा विदेशमा रहेका कारण नेम्वाङको अन्त्येष्टि दुई दिन ढिला भएको हो । बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।
घरमै हृदयघात भई २६ गते मंगलबार बिहान १ः५० बजे त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई तीन बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मंगलबार दिनभर र बुधबार मध्याह्नसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर च्यासलस्थित एमाले मुख्यालयमा राखिएको थियो । बुधबार दिउँसो बालुवाटारस्थित निवास लगिए पनि लिम्बु संस्कार अनुसार बिहीबार मात्र अन्त्येष्टि गरिएको हो ।
एमाले नेता नेम्वाङ दशकौँदेखि राजनीतिमा रहेपनि उनका सन्तान राजनीतिमा छैनन् । छोराहरू विदेशबाट आउन समय लागेपछि अन्त्येष्टि ढिलो भएको सन्देश प्रवाह भएपछि सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी भइरहेका छन् । त्यसले नेम्वाङका छोराछोरी कहाँ के गर्दैछन् चासोको विषय बनेको छ ।
नेम्वाङका दुई पत्नीतर्फबाट दुई छोरा र दुई छोरीसहित चार सन्तान छन् । जेठी पत्नीसँग अलग भएर उनी कान्छी सरोजका साथ बस्दै आएका थिए । तीमध्ये जेठा छोरा मिङ्सो नेम्वाङ परिवारसहित बेलायत बस्दै आएका छन् । उनी विवाहित छन् भने अरु तीन सन्तान नेपालमै बस्छन् र अविवाहित नै छन् ।
कान्छा छोरा सुहाङ कानुन व्यवसायीका रूपमा बुबाको बिँडो थाम्दैछन् । उनलाई राजनीतिप्रति रुचि छ । तर, राजनीतिलाई पेशा बनाउनुहुन्न भन्ने धारणा राख्छन् । त्यसैले राजनीति गर्न व्यक्तिसँग आयआर्जनको छुट्टै पेशा हुनुपर्ने उनी बताउँछन् । सुहाङ केही दिनअघि मात्र एक महिना घुमफिरका लागि अष्ट्रेलिया गएका थिए । तर, बुवाको निधनको खबर पाएपछि उनी मंगलबार राति नै स्वदेश फर्किएका हुन् ।
नेम्वाङकी जेठी छोरी शुसाङ डेन्टल सर्जन हुन् । उनी हाल समाज डेन्टल अस्पतालमा कार्यरत छिन् । कान्छी छोरी सम्या स्नातक सकेर एमएसडब्ल्यू गरिरहेकी छिन् ।

प्रकाशित मिति : ३० भाद्र २०८० शनिबार ००:००  १ : २४ बजे