१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित



काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हरायो ।

न्युजिल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा २ सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका कालिन एकरमेनले सर्वाधिक ६९ रन बनाए ।

न्युजिल्यान्डका मिचेल सेन्टनरले ५ विकेट लिए । म्याट ह्यारीले ३ र रचिन रविन्द्रले एक विकेट लिए । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । उसका विल योङले सर्वाधिक ७० रन बनाए ।

यस्तै, कप्तान टम लाथमले ५३ र रचिन रविन्द्रले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पउल भान मिकेरेन र रोल्फ भान डेर मेरवेले २र२ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराएको थियो । न्युजिल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो ।

विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ । आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्यान्ड नेपाली समय अनुसार बिहान पौने ११ बजे धर्मशालामा खेल्नेछन् । त्यस्तै, दिउँसो सवा दुई बजे पाकिस्तान र श्रीलङ्काबीच हैदराबादमा खेल हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८० मंगलबार ००:००  ७ : ४५ बजे