१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दशैँमा थारु समुदायका गाउँघरमा हुने नाचगान घट्दै



बर्दिया ।
दशैँमा थारु समुदायका गाउँघरमा हुने नाचगान घट्दै गएको छ । दशैँ पर्व भित्रिएपछि गाउँघरमा सखिया र हुरदंगवा नाचगान शुरु हुने गरे पनि पछिल्लो समय लोप हुँदै गएको थारु अगुवाहरू बताउँछन् । थारु कला, संस्कृति लोप हुन लागेको भन्दै आफूहरू चिन्तित भएको थारु समुदायका अगुवा विष्णु थारुले बताउनुभयो ।

बर्दियाको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका लगायतका स्थानीय थारु समुदायको संस्कृति झल्किने सखिया नाच भइरहेको र यो नाच दशैँसम्म चल्ने जनाइए पनि परम्परागत ढङ्गबाट नभएको थारु समुदायका अगुवाहरूको गुनासो छ ।

थारु समुदायमा छुट्टै महत्त्व बोकेको सखिया नाच पनि हराउँदै गएको छ । पश्चिम नेपालका थारु समुदायले दशैँका बेला नाच्ने यो नाच हिजोआज कतैकतै मात्र देख्न सकिन्छ । कृष्णजन्माष्टमीदेखि शुरु भएर दशैँको एकादशीसम्म सखिया र हरदंगवा गीत गाउँदै नाचिने यो नाच गीत गाउने नै नभएपछि नाचमा मात्र सीमित भएको छ ।

पहिले पहिले कृष्णजन्माष्टीको दोस्रो दिनदेखि नै रातिको समयमा कृष्णको लीला गाउँदै सखिचा नाच नाच्ने गरिएकोमा अहिले सखिया गीत गाउने मान्छे नै नहुँदा यो नाच हराउँदै गएको थारु अगुवाहरू बताउँछन् ।

थारु समुदायको प्रमुख सखिया नाचमा देवीदेवता, कुल देवताका गाथा, कृष्ण लीला लगायत धार्मिक ग्रन्थमा आधारित गीत गाउने गरिन्छ । यो नाचमा आफ्ना कुल देवतालाई सम्झिने भएकाले अनिवार्य रूपमा गुरुवालाई सहभागी गराउनुपर्ने चलन पनि छ ।

सखिया नाचमा थारु समुदायका युवती जातीय पहिरनमा सजिने गर्छन् । उनीहरूले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, घुङना जस्ता थारु संस्कृति झल्किने गहना, चोली तथा सेतो रंगको धोती जस्ता पहिरन र सात रङले सजिएको मञ्जिरा लगाएर नाच्ने गर्दछन् ।

सखिया नाच नाच्दा पुरुषले मादल बजाउने गर्दछन् भने महिलाले मादलको तालअनुसार मंजीरा बजाएर त्यसैअनुसार हात, कम्मर, खुट्टा तथा शरीरको हाउभाउ मिलाउने गर्दछन् । तर अहिले गाँउघरमा मादल बजाउन जान्ने मान्छेको समेत अभाव हुन थालेको छ । सखिया नाचमा विशेष भूमिका मादलको हुने गर्दछ तर अहिले पछिल्लो पुस्तालाई परम्परागत रूपमा मादल पनि बजाउन आउँदैन ।

प्रकाशित मिति : ७ कार्तिक २०८० मंगलबार ००:००  ६ : ४३ बजे