७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

विश्व कप क्रिकेटमा श्रीलङ्का अफगानिस्तानसँग स्तब्ध



एजेन्सी ।
आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५ ओभर दुई बलमा ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका रहमत साहले ६२ रन बनाए ।

श्रीलङ्काका दिलसन मधुसनकाले २ विकेट लिए । त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४१ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका पथुन निसान्काले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । श्रीलङ्का भने समूह चरणबाटै आउट हुने खतरा बढेको छ । अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अङ्क बनाएको छ । अफगानिस्तान पाँचौँ स्थानमा पुग्दा श्रीलङ्का भने एक स्थान तल झर्दै छैटौँ स्थानमा पुगेको छ । दुवै टोलीका अब तीन–तीन खेल बाँकी छन् ।

राउण्ड रोबिनका आधारमा खेलाइँदै आएको यो प्रतियोगितामा सबै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । १० मध्ये शीर्ष चार टोली सेमिफाइनलका लागि छनोट हुनेछन् । सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादमा हुने छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८० मंगलबार ००:००  ७ : ४९ बजे