१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप क्रिकेटमा श्रीलंकालाई न्युजिल्याण्डले हरायो



एजेन्सी ।
श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिकै पुगेको छ । न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।

श्रीलंकाका एन्जेलो म्याथुजले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २/२ विकेट लिए । आजको जितसँगै न्युजिल्याण्डको ९ खेलमा १० अंक भएको छ । ८/८ खेल खेलेका पाकिस्तान र अफगानिस्तानको ८र८ अंक छ ।

अब सेमिफाइनलमा पुग्न पाकिस्तान र अफगानिस्तानले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले हराउनुपर्छ । तर यो असम्भव जस्तै देखिन्छ । पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । किनकि न्युजिल्याण्डको रनरेट निकै बलियो छ । यो पराजयसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम भएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ५ : ५० बजे