४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विधान संशोधनबारे नेकपा एसले सोध्यो ११ प्रश्न



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले विधान संशोधनका लागि ११ बुँदे प्रश्नावली मातहतका कमिटीहरूलाई पठाएको छ । पार्टीको सचिवालय बैठकले ११ बुँदे प्रश्नावली पठाएर तल्ला तहका कमिटीहरुको राय मागेको हो ।

पार्टीको विधान संशोधनमा महाधिवेशन/अधिवेशन प्रतिनिधि प्रत्यक्षबाट चयन गर्ने कि नगर्ने ? केन्द्रीय संरचना कस्तो बनाउने ? केन्द्रीय कमिटीको संख्या कति बनाउने लगायत प्रश्नावली तल्ला समितिमा पठाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘प्रदेश, जिल्ला र स्थानीय समितिबाट सुझाव आएपछि विधानलाई अन्तिम रुप दिइने छ’ उनले भने ।

प्रश्नावलीसँगै विकल्प पनि उल्लेख गरिएको छ । त्यस्तै, ‘कमिटीमा पदेन पदाधिकारी तथा सदस्यको उमेर हद राख्ने कि नराख्ने रु’ प्रश्नावलीमा सोधिएको छ । एकीकृत समाजवादीको बैठकमा उमेर हद राख्ने नराख्ने विषयमा विवाद भएपछि सुझावका लागि तल्लो समितिमा पठाइएको हो ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार विधानमा हरेक कमिटीमा ३३ प्रतिशत महिला राख्नेमा विवाद नभए पनि युवा, दलित, जनजाति, मुस्लिम, अल्पसंख्यकलगायतका विषयमा टुंगो लाग्न बाँकी छ । ‘केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षका युवाको सहभागिताको प्रतिशत सुनिश्चित गर्ने वा नगर्ने ? गर्ने भए कति प्रतिशत गर्ने ?’ प्रश्नावलीमा उल्लेख छ । हरेक दलमा युवाको सहभागिता बढाउनुपर्ने माग भइरहेका बेला एकीकृत समाजवादीले भने विधानमै त्यस्तो व्यवस्था गर्नेबारे कार्यकर्ताबाटै सुझाव मागेको हो ।

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  ३ : २६ बजे