१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024

जबज समाप्त पार्ने विचार किमार्थ ठिक भन्न सकिँदैन : माधव नेपाल



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) ले कम्युनिस्ट पार्टीका सोचको दायरा फराकिलो पारेको भन्दै जबज समाप्त पार्ने विचार कुनै हालतमा मान्न नसकिने बताएका छन् ।

आइतबार पार्टी उपाध्यक्ष समेत रहेका कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिस्पर्धाको राजनीतिबाट कम्युनिस्ट पार्टीहरू नभाग्ने पनि बताए । ‘जबजले हाम्रो सोचको दायरा फराकिलो, जनतासँगको सम्बन्धमा घनिष्ठ बनाउने र साम्राज्यवादीहरूलाई आरोप लगाउने ठाउँ दिएन । एक्ल्याउने स्थिति बनेन’, अध्यक्ष नेपालले भने, ‘कुनै पनि शक्तिसँग वैचारिक आधारमा उभिने, कानुनको शासन मान्ने, नियन्त्रण र सन्तुलनको परिपाटी मान्ने, आवधिक निर्वाचनको परिपाटीमा जाने, बहुमत ल्याउनेले सरकार चलाउने र अल्पमतमा हुनेले प्रतिपक्षमा बस्ने यो परिपाटी हामीले स्थापित गरेका छौँ ।’

पार्टीकै अर्का नेता झलनाथ खनालले जबज छाड्नुपर्ने बताइरहेका बेला अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘तर विचार नै परिवर्तन गरेर । हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्ने, आज यसलाई समाप्त पार्ने लाग्ने विचारलाई किमार्थ ठिक भन्न सकिँदैन,’ अध्यक्ष नेपालले नेता खनालप्रति लक्षित गर्दै भने ।

उनले अहिले आफूहरू समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको भन्दै यो चरणमा पनि जबजको उपादेयता रहने बताए । उनले चीन, भियतनाम, क्युबाको जस्तो समाजवाद नेपालमा नहुने भन्दै बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुने बताए । बहुदलीय प्रतिस्पर्धासहितको समाजवादमा वर्गको अस्तित्व, विचार र पार्टी समेत हुने नेपालको भनाइ छ ।

प्रकाशित मिति : २१ माघ २०८० आइतबार ००:००  ५ : २७ बजे