२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बुटवलका डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौँ ।
घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलेको थियो । सो सम्बन्धमा उजुरी परेपछि सिआइबीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै केसीको कैफियत देखिएपछि सिआइबीको टोलीलाई केसीलाई अख्तियारको जिम्मा लगाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बदनियत राखी सुन नियन्त्रणमा लिएको र सुन फिर्ता गर्न बार्गेनिङ गरेको पुष्टि भएपछि गत साउनमा विशेष अदालतमा घुस रिसवतको मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा मंगलबार विशेष अदालतले केसीलालाई दोषी ठहर गर्दै बिगो बराबरको ८ लाख ५० हजार रुपैयाँ जरिवाना गरी २ वर्ष जेल सजाय सुनाएको हो । घुस रिसवत मुद्दामा केसी दोषी ठहर भएसँगै उनी प्रहरी सेवाबाट समेत अलग भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  ११ : ३९ बजे