१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

लुम्बिनीमा मुख्यमन्त्री महराको शपथ आज



बुटवल ।

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ गराउने गरी तयारी छ ।

नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि शुक्रबार महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले,जसपा,नाउपा,नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

महराले एमाले तथा सरकारमा सहभागी साना दलहरुसँग छलफल गरेर सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् । साना दलले टुंगो लगाएपनि एमालेमाओवादीबाट कसलाई पठाउने आज बिहानै छलफल गरेर टुंगो लगाउने जनाइएको छ । यसका लागि नेकपा एमालेसँग आइतबार विहान छलफलका लागि समय तोकिएको छ ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीका अनुसार मन्त्रालयको सङ्ख्या बाँडफाँटको बारेमा पहिले मोटामोटी सहमति जुटिसकेको छ । उनका अनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय दिने सहमति भएको हो। यसैगरी अन्तिम समयमा समर्थन गर्न आएको नागरिक उन्मुक्ति पार्टीलाई पनि मिलाएर लैजानुपर्ने र सो विषय सरकारको नेतृत्व गरेको पार्टीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

आइतबारको शपथ ग्रहणमा मुख्यमन्त्रीसहित माओवादी केन्द्र, एमाले तथा साना दलहरुबाट सहमतिअनुसार एक–एक जना विनाविभागीय मन्त्रीहरु सहभागी हुनसक्ने नेता चौधरीले बताए ।

मन्त्रीको नाम टुंगो लगाउन एमाले र माओवादीलाई सकस परेको छ । एमालेबाट उपनेता चेतनारायण आचार्य, रूपन्देहीका तुलसी चौधरी,बाँकेका रत्न खत्री वा दुर्गा चौधरी, कपिलवस्तुका विष्णु पन्थी वा अर्जुन केसी, रूपन्देहीका भूमिश्वर ढकाल,गुल्मीका दिनेश पन्थीसहितका सांसदको नाम अगाडि आएको छ ।

एमाले संसदीय दलका नेता लिला गिरी काठमाडौंबाट फर्केर टुंगो लगाउने भनिएको छ । उनी यहीँ विषयमा शीर्ष नेताहरूसँग सल्लाह लिन काठमाडौं गएका थिए । माओवादीबाट दाङका इन्द्रजित थारू, बाँकेकी कृष्ण केसी र रोल्पाका दिपेन्द्र पुनमध्येबाटै मन्त्री बन्ने सम्भावना छ ।

प्रकाशित मिति : २५ चैत्र २०८० आइतबार ००:००  १० : ४० बजे