७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुटवलमा गर्मी अचाक्ली, स्कुल दुई दिन बन्द



बुटवल ।
पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नग भित्रका सबै स्कुलमा बिदा दिएको छ।

बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा दिने निर्णय गरेको जनाएको हो।

केही दिनयता चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिँदा उक्त निर्णय गरेको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ।

वैशाख महिना सुरू भएदेखि नै रूपन्देही लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ। खेतबारी र वरिपरिका वनजंगलसँगै बस्तीहरूमा लागेको आगलागी र बिहानैदेखि चल्ने तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ।

मंगलबार भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यसअघि वैशाख ९ गते सबभन्दा धेरै ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो।

अत्यधिक गर्मीका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी पर्न थालेका छन्। लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसहरूको स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेका छन्।

प्रकाशित मिति : २० बैशाख २०८१ बिहिबार ००:००  ३ : २० बजे