४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन – घनश्याम भूसाल



दाङ ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गाडी र साडी मात्रै बेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दाबी गरेका हुन् ।

उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजादासम्म मुलुक अगाडि बढ्न नसक्ने बताए । ‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भइरहेका छन’ महासचिव भूसालले भने-‘अब नेपाल राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जाने नीति लिएका छौं ।’

उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० बर्षभित्र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूँजीवाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए । महासचिव भूसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरि नीति बनाउने समेत बताए । उनले अहिले देशमा उद्योग धन्दा धारासायी भएको र निजि क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए । उनले अब उद्यमेगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए ।

०६२र६३ सालको जनक्रान्तिले समान्तवाद समाप्त पारेको बताउदै अबको बाटो राष्ट्रिय पुँजीको विकास गरी रोजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्ने उनले जोड दिए । नेपालका कम्यूनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले आफूहरुको महाधिवेशनको दस्तावेजले हलचल ल्याउने बताए । उनले आफूहरूको विद्रोह संसद विघटनसंग मात्रै नजोडिएको बताउदै केपि ओलीसंग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको बताए ।

उनले आफूहरूको महाधिवेशन समयमै हुने समेत बताए । महाधिवेशनको दस्तावेजले कम्यूनिष्ट पार्टीहरूमा हलचल ल्याउने समेत बताए । उनले अहिले बनेको गठबन्धनमा अस्तित्व सहित आफूहरु सहभागी भएको बताए । जनता र राष्ट्रका मुद्वामा संगैसगै हुने भएकाले सरकारका गएको समेत उनले बताए । उनले काँग्रेससँगको गठबन्धनमा बस्दा पुच्छर बनेको भन्नेहरूले फेरि एमालेसंग मिल्दैछन भनेर हल्ला फैलाएको बताए । उनले अहिले कुनै पनि दलसंग एकता नहुने बताए ।

प्रशिण कार्यक्रममा एकीकृत समाजवादीका सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्च हरी पराजुलीले जनताका आधारभूत बिषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे ।

उनले समाजमा किसान, मजदुर, दलित, महिला तथा उत्पिडित समुदायका मुद्वामा उठाउन समेत उनले आग्रह गरे ।

यस्तै कार्यक्रममा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्यूनिष्ट आन्दोलनमा देखिएको निराशशालाई अब आफूहरूले आशामा परिणत गर्ने बताए । उनले २०७५ सालसम्म कम्यूनिष्ट बहुमत रहेकोमा एमालेका कारण त्यो घटेको समेत बताए । उनले महाधिवेशनले स्पष्ट नीति र बाटो तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश बृहस्पति अधिकारी,सचिव अशोक कोईराला,मोर्चा संगठन लुम्बिनीका ईन्चार्ज अब्दुल हुसेन खाँ, पार्टि रूपन्देहीका अध्यक्ष श्रीराम यादव, अखिल नेपाल महिला संघ समाजवादी लुम्बिनी अध्यक्ष लक्ष्मी भुसाल लगायतले बोलेका थिए । उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीलाई मन्त्री भएकोमा सम्मान गरिएको थियो ।

बैठकमा नेकपा एसका विभिन्न जनवर्गीय संगठनका प्रदेश अध्यक्ष एव प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१ आइतबार ००:००  ५ : २३ बजे