४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मीमा माटाको ढिस्कोले पुरिएर १ जनाको मृत्यु



गुल्मी ।
गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको र सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर लिप्नका लागि ६ जना गएका थिए । माटो खनिरहेका बेला अचानक ढिस्को खस्दा विष्णु र हुमकला पुरिएका थिए ।

उनीहरुको उद्दार गरेर उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । घाइतेमध्ये विष्णु रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्की घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१ आइतबार ००:००  ६ : २० बजे