७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भ्रष्टाचार मुद्दा लागेका सांसद जानकी यादवको निलम्बन फुकुवा



बुटवल ।
लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको ११ औँ बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको शीर्षकमा विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागि निलम्बन गरेको थियो । सो मुद्दामा यादवले सफाइ पाएपछि प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाइ दिएको थियो ।

मुद्दाको फैसला भएको र यादवले सफाइ पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्ती मगरले जानकारी दिए । यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१ मंगलबार ००:००  १० : २१ बजे