६ असार २०८३, शनिबार | Sat Jun 20 2026

तिहारमा झरी नपर्ने



काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ।

सार्वजनिक बुलेटिनअनुसार १५, १६ १७ र १८ गते कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा हुनेछ। बुलेटिनमा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ।

बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। ती दिनमा अधिकांश ठाउँमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बादल लाग्ने भए पनि ठूलो झरीको सम्भावना नदेखिएको जानकारी दिए। उनले भने, ‘ती प्रदेशका केही ठाउँमा हल्का बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, पहाडी भूभागका एकरदुई ठाउँमा मध्यम वर्षा हुनसक्छ कि भन्ने जस्तो छ तर सोचेभन्दा कम पानी पर्ने देखिन्छ।’

मौसमविद् अर्यालका अनुसार ठूलो झरी पर्ने अवस्था छैन। पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८१ बुधबार ००:००  ६ : २१ बजे