२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

अर्जेन्टिनाको जितमा मार्टिनेज निर्णायक, उरुग्वेविरुद्ध ब्राजिल रोकियो



काठमाडौं ।
इमिलियानो मार्टिनेजले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोटमा पेरुविरुद्ध १–० को जित निकालेको छ ।

बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई तीन अंक दिलाउन मार्टिनेजले ५५औँ मिनेटमा निर्णायक गोल गरे । यो गोलसँगै मार्टिनेज अर्जेन्टिनाबाट पाँचौँ सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाबाट ३२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो कीर्तिमानमा मार्टिनेजले डियागो म्याराडोनासँग बराबरी गरेका हुन् ।

जितसँगै तीन अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको पेरु भने तालिकाको पुछारमा छ ।

छनोटअन्तर्गत बुधबार बिहानै भएको अर्को खेलमा ब्राजिल भने उरुग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । ब्राजिलमै भएको खेलमा पाहुना टिम उरुग्वेले फेडेरिको भाल्भार्डेको गोलमा अग्रता बनाएको थियो । भाल्भार्डेले ५५औँ मिनेटमा गोल गरेका थिए । तर, ६२औँ मिनेटमा ग्रेसनले गोल गर्दै घरेलु समर्थकमाझ ब्राजिललाई खेलमा फर्काएका हुन् ।

छनोटको दोस्रो स्थानमा रहेको उरुग्वेले १२ खेलबाट २० अंक जोडेको छ । समान खेलबाट १८ अंक जोडेको ब्राजिल भने तालिकाको पाँचौ स्थानमा छ ।

बुधबारका अन्य खेलमा चिलिले भेनेजुयलालाई ४–२ ले र इक्वेडरले कोलम्बियालाई १–० ले हराउँदा बोलिभिया र पराग्वेले भने २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१ बुधबार ००:००  ११ : ०२ बजे