२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

एकीकृत समाजवादीको अपिल- प्रतिगमनकारीका कुकर्मलाई ‘नाङ्गेझार’ पारौं



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै त्यसको विरोध गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले त्यस्ता गतिविधिको विरोध गर्दै विशेष प्रस्ताव समेत पारित गरेको छ ।

सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएका क्रियाकलापको गम्भीर समीक्षा गर्दै सबै दल, वौद्धिक जगत, नागरिक समाज र जनसमुदायमा अपिल गरेको छ ।

‘अहिले केही व्यक्तिहरुले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधिहरु नेपाली जनताको चाहना र भावना विपरित छन् । यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकतावद्ध भएर अगाडि बढ्न आवश्यक छ,’ एकीकृत समाजवादीले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौं ।’

त्यस्तै, आगामी चैत १ गते पत्रकार सम्मेलन आयोजना गरेर पार्टीले गर्न लागेको आन्दोलनबारे जानकारी गराउने पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनका लागि आन्दोलन गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१ सोमबार ००:००  ४ : ५४ बजे