१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

अधिकारी परिवारद्वारा नन्दनगरस्थित गुरुकुल शिक्षालाई सहयोग



वाणगंगा ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा अवस्थित श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुललाई अधिकारी परिवारले आर्थिक सहयोग प्रदान गरेको छ।

वाणगङ्गा नगरपालिका–१ बैरिया निवासी समाजसेवी चुरामणि अधिकारी तथा पवित्रादेवी अधिकारीले शनिबार गुरुकुलमा अध्ययनरत बटुकहरूका लागि भण्डाराको उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो।

विद्यालयका गुरू युवराज बेल्वासेका अनुसार अधिकारी परिवारले आफ्नो चौरासी पूजाका अवसरमा तुलादानमा खर्च हुने रकमलाई गुरुकुल शिक्षाको प्रवर्द्धन गर्ने पवित्र उद्देश्यसहित ११ हजार १ सय ११ रुपैयाँ गुरुकुललाई प्रदान गर्नुभएको हो। एकदिनकाे भन्डाराकाे लागि विद्यालयकाे नियम अनुसार उक्त रकम लाग्ने गर्दछ ।

चौरासी पूजाको अवसर पारेर गुरुकुलमा अध्ययनरत बटुकहरूले अधिकारी परिवारको धार्मिक विधिपूर्वक पूजा–आजा गर्दै भण्डाराको लागि स्वागत गरेका थिए।

यसैबीच श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुल परिवारले सहयोग प्रदान गर्ने अधिकारी परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। अधिकारी परिवारले गत मंसिर १८ गते आफ्नो निवास नजिकै अवस्थित श्री दुर्गा भगवती मन्दिर, बैरियामा चौरासी पूजा, ब्रतबन्धलगायत धार्मिक कार्यहरू सम्पन्न गर्नुभएको थियो।

प्रकाशित मिति : २८ मंसिर २०८२ आइतबार ००:००  ७ : २३ बजे