वाणगंगा ।
सिद्धार्थ सामाजिक विकास केन्द्र द्धारा वाणगंगा नगरपालिकामा सञ्चालन हुँदै आएको विलिफ कार्यक्रमको कार्यक्षेत्र स्तरीय सामाजिक परीक्षण कार्यक्रम मंगलबार संस्थाकाे सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा विलिफ कार्यक्रमका व्यवस्थापक आरटी खानले वर्षभरि परियोजनामार्फत सञ्चालन गरिएका मुख्य गतिविधि, उपलब्धि, सिकाइ, देखिएका समस्या तथा चुनौतीबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले समावेशी शिक्षा, अभिभावक–बालबालिका शिक्षा, मानसिक स्वास्थ्य, जीविकोपार्जन, उद्यम विकास, आयआर्जन, क्षमता विकास तालिम तथा सचेतनामूलक कार्यक्रमहरू समुदायमा सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका निर्देशक प्रकाश घिमिरेले नगरवासीको जीवनमा सकारात्मक परिवर्तन र खुशी ल्याउने उद्देश्यले विभिन्न क्षेत्रमा वाणगंगा नगरपालिकासँग सहकार्य गर्दै आएको बताउनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलोचन घिमिरेले नगरपालिका र संस्थाबीचको सहकार्यमा स्थानीय स्तरमा सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले सबै क्षेत्रको सहयोग र एकीकृत प्रयासकै कारण नगरको विकासमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्नुभयो।
वाणगंगाको वडा न. ७, ८ र ९ मा गठित आपसी सहयोग समूह र विभिन्न संरचना मार्फत समुदाय स्वच्छता प्रवर्द्धन, बालविवाह अन्त्य, लागूपदार्थ तथा मदिरा निषेध, मुद्दा–आधारित भेदभाव अन्त्य तथा सामाजिक सद्भाव स्थापना गर्ने उद्देश्यका गतिविधिहरू सञ्चालन गरिएको छ। यी कार्यक्रमहरूले १ हजार ९ सय घरधुरी प्रत्यक्ष रूपमा समेटेका छन्, जसबाट समुदायका नागरिकहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने लक्ष्य लिइएको छ।
कार्यक्रममा उपस्थित वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल तथा उपप्रमुख रिता कुमारी चौधरीले संस्थाले नगरपालिकाको समृद्धि र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। महिला, किशोरी, युवा, कृषक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कार्यक्रमले पुर्याएको योगदान प्रशंसनीय रहेको उहाँहरूको भनाइ थियो।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेल, कार्यपालिका सदस्य शारदा परियार, वडा सदस्य पार्वती सुनार लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन थिम प्रमुख सिता थारूले सहजीकरण गर्नुभएको थियो।







प्रतिक्रिया