काठमाडौं ।
अर्घाखाँचीस्थित पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्बर्द्धन समितिलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहित ‘रण–अम्बिका सेवा पुरस्कार २०८३’ प्रदान गरिएको छ ।
रण–अम्बिका सेवा गुठीले आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको अध्यक्षता तथा प्राज्ञिक व्यक्तित्व एवं पूर्व राजदूत प्रा। डा। जयराज आचार्यको प्रमुख आतिथ्यमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
समितिका अध्यक्ष पुष्करराज पोख्रेल र अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले सम्मानपत्र तथा पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कार ग्रहणपछि बोल्दै नेत्रबन्धु पोख्रेलले पाणिनीय ज्ञान, पाणिनि तपोभूमिको ऐतिहासिक महत्व तथा यसको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि समितिले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउनुभयो ।
प्रमुख अतिथि प्रा। डा। जयराज आचार्यले पाणिनिद्वारा रचित व्याकरण विश्व भाषाविज्ञानको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पाणिनि तपोभूमिको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
गुठीका अध्यक्ष डा। चिन्तामणि नाथ योगीले पाणिनि तपोभूमिलाई महत्वपूर्ण विद्यातीर्थका रूपमा विकास गर्न सबैको सहकार्य, समर्पण र समभाव आवश्यक रहेको बताउनुभयो ।
उक्त अवसरमा स्वर्गीय काशीनाथ जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । साथै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
समाजसेवी तथा दानवीर रणबहादुर शाह र उहाँकी धर्मपत्नी अम्बिका शाहद्वारा स्थापित रण–अम्बिका सेवा गुठी शिक्षा, स्वास्थ्य, धर्म–संस्कृति संरक्षण, राष्ट्रकल्याण तथा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील परोपकारी संस्था हो । गुठीले विभिन्न शैक्षिक, सामाजिक, धार्मिक तथा आध्यात्मिक गतिविधिमार्फत समाजसेवामा योगदान पुर्याउँदै आएको छ ।






प्रतिक्रिया