२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी



वाणगंगा ।
गौरवको आयोजनाका नाममा संचालित एक क्रेशर उद्योगबाट धमाधम नदिजन्य पदार्थ निजि क्षेत्रमा तस्करी भैरहेको छ ।
बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजनाका नाममा बाणगंगा नगरबाट अमानतमा अर्थात विना प्रतिस्पर्धा कम राजश्वमा उठाईएको नदिजन्य पदार्थ बाहिर विक्रि गरेको तथ्य फेला परेको हो । एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले गौरवको आयोजनाका लागि नदिजन्य पदार्थको जिम्मालिई ठेक्कामा लिईएको लुम्बिनी क्रेशरबाट निजि क्षेत्रलाई नदिजन्य पदार्थ विक्रि गरेको तथ्य फेला परेको हो ।
गत आर्थिक वर्षमा सड्क आयोजनाका नाममा बाणगंगा नगरपालिकाको बाणगंगा नदि श्रीङ्गीघाट देखि मधुवन सम्म ६३ हजार ९ सय ९६ घनमिटर नदिजन्य पदार्थ ३ करोड ३८ लाख ८१ हजार ६ सय ३१ रुपैया मात्र हात पारेको थियो । सो बेला नक्कली ससिद बनाई झण्डै दोब्बर नदिजन्य पदार्थ संकलन गरेको आरोप लागेको थियो । गत मंगलबार नदिजन्य पदार्थ महङ्गोमा विक्रि गरेको सुचना थाहा पाएपछी लुम्बिनी क्रेशरमा पुगेका संचारकर्मीले सो तथ्य फेला पारेका हुन् ।
आयोजना मातहतमा रहेको उक्त क्रेशरबाट लु ३ त ४६०७ नम्बरको ट्याक्टर कृष्ण थापा र रा १ त ३०१७ नं को ट्याक्टर जिएम बरालका नाममा कम विजक बनाई भ्याट छलि समेत गरेर निजि प्रयोजनका लागि आयोजनाका नाममा ल्याईएको नदिजन्य पदार्थ विक्रि गरेको प्रत्यक्ष फेला परेको थियो ।
गत चैत्र १२ गते बाणगंगा खोलाबाट नदीजन्य पदार्थ चोरी नक्कली रसिद काण्डमा नगरपालिकाबाट कार्वाहीमा परेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनी अर्न्तरगतको लुम्बिनी क्रेशर बाट पुन नदिजन्य पदार्थ अवैध निकासी भैरहेको तथ्य फेला परेको हो ।
बाणगंगा नगरपालिकाको राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु २ ख १७०४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको थियो । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका थियो भने १२ गते करिब ४ बजे नगरपालिकाको टोली अनुगमन आउने थाहा पाएपछि हतार हतार ४१२ नम्बरको रसिद काटेका आधारमा नगरको अनुगमन टोलीले फेला पारेको थियो ।
नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली रहेको भन्दै राजस्व छली गरेको आरोपमा ६० हजार जरिवाना गरि छाडेको थियो ।

बुटवल–गोरुसिंगे चन्द्रौटा सडक योजनालाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आबका लागि भ्याट बाहेक १५ रुपैयाँ रुपैयाँको दरले ६४ हजार घन मिटर माल निकाल्न स्वीकृति दिएको थियो । अन्य व्यवसायीलाई भने प्रतिस्पर्धामा दोब्बर रकम परेको छ ।
आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घन मिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुँदा हुँदै पनि ठेकेदार पक्षले ३ लाख घन मिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका सँग माग गरेको थियो । तर बाणगंगाले महत्त्वपूर्ण आयोजना भन्दै हाल करिव ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिकाबाटै निर्णय गरेर नदीजन्य सामाग्री उपलब्ध गराइएको थियो । नगरसंगको सम्झौताको बुदाँ नं ५ मा आयोजना निर्माण कम्पनीले नदिजन्य पदार्थ आयोजनाको काममा प्रयोग गर्नुपर्ने शर्त रहेको छ ।
गौरवको आयोजनाको नाममा करछलि गर्दै उद्योग
निजि क्षेत्रलाई गौरवको आयोजनाको नाममा ल्याईएको नदिजन्य पदार्थ विक्रि गर्दा क्रेशरले भ्याट छलि गरेको छ । क्रशरले भ्याटमा काट्नुपर्ने रसिद कम विजक बनाएर प्यान विल ठमाएको हो । प्रतिफुट ५५ रुपैयाका दरले विक्रि भएको बालुवाको मुल्य ५५ सय तिर्दा व्यवसायीले २ हजारको मात्र विल पाउने गरेको ट्याक्टर चालक बताउछन् ।

गौरवको आयोजनाका नाममा लुट मच्याई रहने ठेकेदार तथा उक्त क्रेशर संचालक बाबुराम अधिकारीले पट्क पट्क किर्ते र अवैध धन्दा मच्याउदा सरोकारवाला निकाय भने बेखबर जस्तै बनेको छ । बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमुख मदन घिमिरेले नदिजन्य पदार्थ निजि क्षेत्रलाई विक्रि गर्न नपाउने र सो फेला परे कार्वाही हुने बताए । यस सम्बन्धमा गुनासोहरु आउन थालेको उनको भनाई छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२ बुधबार ००:००  ६ : ४२ बजे