६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दश स्थानीयतहमा फोटो सहितको मतदाता नामवली संकलन



कपिलवस्तु, १७ साउन ।

मतदाता नामावली संकलन तथा अद्यावधिक सोमबार देखी कपिलवस्तुका सम्पुर्ण स्थानियतहबाट सुरु भएको छ । निर्वाचन आयोगले साउन १ गते देखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने बताए पनि राजनीतिक दलको सहमतीले स्थानीयतहबाट पनि नाम दर्ता गर्न सकिने निर्णय भएको थियो ।

त्यहि निर्णय अनुसार सोमबार देखि कपिलवस्तुका दश बटै स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभयोे ।

जिल्लामा कपिलवस्तु नगरपालिकाको तौलिहवा, वाणगंगा नगरपालिकाको गजेहडा, बुद्धभुमि नगरपालिकाको बुढ्ढी, शिवराज नगरपालिकाको चन्द्रौटा, कृष्णनगर नगरपालिकाको कृष्णनगर, महाराजगंज नगरपालिकाको महाराजगंजमा मतदाता नामवली संकलन हुने जिल्ला निर्वाचन कार्यलयका प्रमुख घिमिरेले बताउनुभयो ।

यस्तै विजयनगर गाउँपालिकाको कार्यालयको खुरहुरिया, यशोधरा गाउँपालिकाको बैदौली, मायादेवी गाउपालिकाको पकडी, शुद्धोधन गाउपालिकाको लवनीमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन सकिने छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान र सक्कल नागरिकतामा लेखिएको स्थायी ठेगाना बाहेक अन्य स्थानमा नाम दर्ता गर्नका लागि बसाई सराई, विवाह दर्ता, जग्गाधनी प्रमाण पूर्जा वा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र हुनु पर्ने निर्वाच्न कार्यलयले जनाएको छ ।

यस्तै यस भन्दा पहिला दर्ता गरिएको मतदाता नामावलीमा रहेको विवरण सच्याउन, ठेगाना परिवर्तन गर्न वा नाम हटाउनु पर्ने भएमा अहिले नै आवश्यक प्रमाण सहित तोकिएका स्थानहरूमा निवेदन दिनुपर्ने छ । साथै जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुमा अर्को निर्वाचनको मिति घोषणा नहुञ्जेल सम्म मतदाता नामावली दर्ता कार्य निरन्तर रहनेछ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १ : ५९ बजे