१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खोटोबाट प्युठानमा बार्षिक ८० लाख आम्दानी



प्यूठान, १७ साउन ।
पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार आम्दानी भएको छ ।

जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो रु नौदेखि १० सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिकृत प्रविण बिडारीले जानकारी दिनुभयो ।

वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रूपमा गरेको पाइएको बिडारीले बताउनुभयो । जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ । शिक्षक दरबन्दी नभएका विद्यालय वन समूह र खोटोको पैसाबाट सञ्चालन हुँदै आएका छन् ।

यहाँ संकलन गरीएको खोटो भारत निकासी हुन्छ । जिल्लामा हाल गणपति रोजिन, खनाल रोजिन, दीपमाला रोजिन, बुढाथोकी रोजिन र माउन्ट रोजिनले खोटो संकलन गर्दैआएका छन् । रासस

 

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : १४ बजे