८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाँकेका विद्यार्थीको पढाइ प्रभावित



नेपालगन्ज, ५ भदौ ।
एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
राप्ती नदीमा आएको पानीको भेल गाउँमा पसेपछि विद्यालयसमेत डुबानमा परेकाले विद्यार्थीको पढाइ प्रभावित भएको हो । सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार, बाढीका कारण जिल्लाका ८१ विद्यालय खुल्न सकेका छैनन् । ती विद्यालयमध्ये २९ विद्यालयमा बाढीपीडित परिवारका सदस्यले आश्रय लिइरहेका छन् ।
विद्यालयको कक्षाकोठामा पसेको पानी सुकिनसकेको र केही विद्यालयमा राहत शिविर सञ्चालन भइरहेकाले एक सातापछि मात्र विद्यालय सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ ।
विद्यालय सञ्चालनमा नआउँदा करिब १५ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ भने बाढीका कारण विद्यालयमा भएका पाठ्यसामग्रीसमेत नष्ट भएको छ ।
त्यस्तै विद्यार्थीका पाठ्यपुस्तक पनि बाढीसँगै बगेपछि उनीहरुले घरमा समेत अध्ययन गर्न पाएका छैनन् । सहायक जिशिअ थापाले विद्यालयमा नष्ट भएका पाठ्यसामग्री खरिद गर्न रु ५० हजार विनियोजन गरिएको बताउनुभयो । रासस

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ३ : २० बजे