८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलबस्तुका थारु समुदायले किन अत्तवारी मनाएनन ! कारण सहित



सरिता थारु, कपिलवस्तु, ११ भाद्र ।
थारुहरुको महान पर्व बड्की अत्तवारी आइतबार दाङ, बांके बर्दिया लगायत पश्चिमका थारु समुदायले धुमधामका साथ मनाएका छन् । यद्यपि कपिलबस्तु, रुपन्देही र नवलपरासीका समुदायले भने आइतबार अत्तवरी पर्ब मनाएनन ।

हरितालिका तीज पछिको पहिलो आइतवारलाई थारु समुदायले विषेश पर्वका रुपमा मान्ने गर्दछन् । तर आज षष्ठि तिथी परेको हुदा अत्तवरी पर्व नमनाएको थारु संस्कृतिविद द्धारिका थारुले जानकारी दिनुभयो । उहाका अनुसार अब आउने आईतबार अत्तवरी मनाइनेछ । थारु समुदायमा षष्ठी तिथी सम्म अछुत हुन्छ भन्ने मान्यता रहेको छ ।

उता पश्चिममा भने कृष्णा जन्माष्टमि पछिको दोस्रो आईतबारलाई बड्की अत्तवरी पर्वको रुपमा मनाउने चलन रहेको छ । अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् ।

थारु समुदायको यो प्रमुख पर्व मध्येको एक हो । आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ । अट्वारीमा रोटी दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ ।

भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफना चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र ददीबहिनी बीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिइन्छ । अट्वारी थारु जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  २ : २७ बजे