११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

तिनाउ गाउँपालिकाको बजेट रु एकतीस करोड



पाल्पा, १६ भदौ ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले रु ३१ करोड ३३ लाख ९८ हजार १३८ रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रममार्फत प्रत्येक वडामा रु एक करोडभन्दा बढी रकम पूर्वाधारको विकासमा खर्च गर्ने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले विहिबार भएको पत्रकार सम्मेलनमा बताउनुभयो । तिनाउ गाउँपालिकामा केन्द्रीय अनुदान रु १५ करोड १५ लाख ३० हजार, केन्द्रीय अनुदान ९शर्तअनुसार० मा रु ११ करोड आठ लाख ३५ हजार, सामाजिक सुरक्षातर्फ रु दुई करोड ६५ लाख, गत वर्षको जिम्मेवारी सरेको रकम रु ९१ लाख ८३ हजार १०० रहेको अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाले आन्तरिक स्रोतबाट रु एक करोड ३३ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ ।

‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधार, समुद्ध तिनाउको मूल आधार’ भन्ने नाराका साथ भदौ १० गते शुरु भएको प्रथम गाउँसभाले प्रत्येक वडा तथा गाउँपालिकाको विकासका लागि बजेट विनियोजन गरेको छ । २० वर्षपछि निर्वा्चित जनप्रतिनिधिले स्थानीय तह बजेट विनियोजन गरेपछि सर्वसाधारणहरु खुसी देखिएका छन् ।

विद्युतीय पुस्तकालय बन्यो धवलमा 

यसैबीच, पाल्पाको पुरानो धवल पुस्तकालयले विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० सञ्चालनमा ल्याएको छ । दशौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा पाल्पाको तानसेन मेहलधारा स्थित पुस्तकालयको कार्यालयमा विद्युतीय पुस्तकालय आरम्भ गरेको हो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुस्तकालयमा जडान गरिएको ई–लाइब्रेरीको उद्घाटन गर्नुभएको हो ।

साझा शिक्षा ई–पाटीले उत्पादन गरेका १० हजार पुस्तक ई—लाइब्रेरीमा पढ्न सकिनेछ । लाइब्रेरीमा १० वटा कम्प्युटर रहेका पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले जानकारी दिनुभयो । नगरप्रमुख शाहीले धवल पुस्तकालयमा पुस्तक पढ्ने दलानदेखि विद्युतीय तरङ्गसम्म जोडिएकोमा प्रशंसा गर्नुभयो । ई–लाइब्रेरीले धेरैभन्दा धेरै युवा विद्यार्थीलाई जोडेर ज्ञानी बनाउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कागज बिनाका पुस्तक डिभाइसमा भरिएकाले उपयोग गर्न नयाँ पुस्तालाई उहाँले आग्रह पनि गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसमा उपप्राध्यापक शोभाखर न्यौपाने, प्याब्सनका केन्द्रीय सदस्य खेम सारुले पठन संस्कृति बढाउनुपर्ने बताउनुभयो । पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले पुस्तक पढ्ने बानीले मानिसलाई ज्ञानको धनी बनाउने बताउनुभयो । रासस

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ३७ बजे