११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नेपाल आइडलमा किन कोहि आउट भएनन, यस्तो छ कारण !



काठमाडौं, १७ भदौ ।
शुक्रबार नेपाल आइडलबाट कोही पनि आउट भएनन् । शुक्रबार निर्णायकले आफ्नो पावर प्रयोग गर्दै नो इलिमिनेसन डे घोषणा गरेका हुन् । शुक्रबार प्राप्त भोट अर्को हप्ता आउने भोटमा जोडिनेछ ।
यसअघि दर्शकले पठाएको भोटको संख्या सार्वजनिक गरिन्थेन। तर, यो हप्ता भने ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको जानकारी दिइएको थियो ।
विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा चार जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये अर्को शुक्रबार एक जना बाहिरिने छन् ।
दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।
यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए । गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शक समेत रोएका थिए ।
त्यस्तै, पहिले नै बाहिरिएका प्रताप लामा, मेनुका पौडेल, अफसर अली, प्रमिला राई, विल्सन श्रेष्ठ, केञ्जल मेहर श्रेष्ठ लगायतका प्रतियोगीको प्रस्तुति दर्शकले निकै नै मन पराएका थिए । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका प्रतियोगीको सहभागिता रहनेछ ।
स्रोत उज्यालो अनलाइन

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  २ : ०९ बजे