८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्न शिक्षकलाई दबाब



नवलपरासी, १९ भदौ ।

नवलपरासीमा एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।
कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो ।   आगामी वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने  विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने निर्णयसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आइरहेको थियो ।
नवलपरासीका केही विद्यालयले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालय कार्यान्वयनमा लैजाने चरणमा छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  १ : ५५ बजे