१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा ट्राफिक शिक्षक



नवलपरासी, २६ भदौ ।
पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ ।
विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्रत्येक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने अभियान शुरु गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय कावासोतीका प्रमुख धर्मेन्द्र रावलका अनुसार ट्राफिक शिक्षकले आफ्ना विद्यालयमा विद्यालय ट्राफिक स्वयंसेवक उत्पादन गर्नेछन् ।
उत्पादित स्वयंसेवक शिक्षकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउने छन् ।
विद्यालय, शिक्षक र विद्यार्थीबाट तत्काल घर अनि समाजलाई सकारात्मक असर गर्ने भएकाले नमूनाका रुपमा नवलपरासीमा यो कार्यक्रम ल्याइएको ट्राफिक प्रमुख रावलले बताउनु भयो ।
ट्राफिक शिक्षक तयार गर्ने उद्देश्यका साथ कावासोतीमा यस क्षेत्रका विद्यालयका शिक्षकलाई भेला गराएर ट्राफिक नियम, व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र सहज व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको छ ।
प्रत्येक विद्यालयबाट उत्पादन भएका ट्राफिक शिक्षकलाई प्रमाणपत्र र रिफेस जकेटसमेत प्रदान गरिएको छ । ती शिक्षकले नजिककै ट्राफिक कार्यालयको सहयोगमा कार्यक्रम गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ४० बजे