८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

छठ पर्व आज मनाईंदै, राष्ट्रपतिले पनि साँझ छठ पूजा गर्ने



मायादेवी अनलाईन ९ कार्तिक ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व अस्तिदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । त्यस बेला पाण्डव विराट राजाको दरबारमा बास बसेको र त्यही समयदेखि छठ मनाउने परम्परा शुरु भएको हो । यो पर्वमा सूर्यको पूजा महत्वपूर्ण हुन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । त्यसैले सूर्यको पूजा गरेर मनाइने छठ पर्वको महत्व झन् बढ्दै गएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिने विधिविधान रहेको स्थानीयवासी जीतेन्द्र झाले बताउनुभयो ।षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आज साँझ गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
आज छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देश दिँदै यो पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल होस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको अवसरमा शुभकामना दिनुहुँदै पवित्र यस पर्वको माध्यमबाट नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताउनुभएको छ । सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै अनेक संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाएको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले छठ प्रेम, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरूको महान चाड भएको बताउँदै उहाँले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले अहिले देशनिर्वाचनतर्फ उन्मुख भएको र अब निर्वाचनमार्फत लोकतन्त्रको जग बलियो बनाउनका लागि आगामी मंसिर १० र २१ गते हुने चुनावलाई सफल बनाउनुपर्ने पनि उल्लखे गर्नुभएको छ ।
नेताहरूको पनि शुभकामना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।शुभकामना सन्देश दिँदै उहाँले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने उल्लेख छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताउनुभएको छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ५० बजे