१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एक खलनायकको गुनगुन



अनन्त वाग्ले, काठमाडौं ।
अहिले बलिउड तथा कलिउडको रजतपटमा नायकको भन्दा खलनायकको चर्चा बढी हुन थालेको छ । रिलिजको तयारीमा रहेको बलिउड चलचित्र ‘२.०’ मा खलनायक बन्न नायक अक्षय कुमारले लिएको ५५ करोड पारि श्रमिक र सबैभन्दा महँगो बजेटको भारतीय चलचित्र बनेको विषयले धेरै चर्चा पाएको छ ।
यता, कलिउडमा पनि अहिले प्रदर्शन भइरहेको चलचित्र ऐश्वर्यमा यसका खलनायक प्रशान्त ताम्राकारले निर्वाह गरेको भूमिका, उनले बोल्ने संवाद र शैली भाइरल भइरहेको छ । नायक नायिकाभन्दा उनको गेटअप अहिले चर्चाको विषय बनेको छ ।खलनायकहरूको बोलवाला बढिरहेकै बेला चलचित्रको पर्दामा भन्दा पनि काँचको पर्दामा नकारात्मक भूमिका निभाएर खलनायक कहलिएका पुकार भट्टराईले अहिले एउटा प्रेमपूर्ण चलचित्र निर्माण गरेका छन् ‘गुनगुन’ ।
चलचित्र प्रेमपूर्ण भए पनि पुकारको भूमिका भने खलपात्रकै छ । एउटा डरलाग्दो नकारात्मक पात्र । चलचित्रको लेखन तथा निर्देशन पनि उनी आफैंले गरेका छन् । निर्माणको अन्तिम चरणमा पुगेको ‘गुनगुन’ को रिलिज डेट भने तय भइसकेको छैन ।
‘प्रेम र स्वार्थको भुमरीमा रुमलिएको कथा हो गुनगुन’, आफ्नो चलचित्रबारे प्रट्याउँदै पुकारले भने, ‘प्रेमले मान्छेलाई अन्धो बनाउँछ । प्रेम नै संसार हो, प्रेम अमृत हो तर यही प्रेमले कहिलेकाहीँ विष पनि फालिरहेको हुन्छ । त्यसैले प्रेम सफल हुन यसलाई बुझ्न सक्ने मन चाहिन्छ, सामाजिक परिवेश पनि त्यस्तै चाहिन्छ । चलचित्रले यिनै विषय उठाएको छ ।’
३० वर्षदेखि कलाकारितामा रहेका पुकार सकारात्मकभन्दा नकारात्मक भूमिका मै बढी चिनिए । ‘समाजमा भएको कुरीति र विसंगतिमाथि अभिनय गर्दा आनन्द आउँछ’, उनी भन्छन्, ‘पर्दामा म जति निष्ठुर, निर्दयी अनि खराब देखिन्छु, वास्तविक जीवन त्यति नै कोमल र शालीन छु ।’
तुलसी घिमिरे निर्दे्शित टेलिचलचित्र ‘मुक्ति’ मा गरेको अभिनयले पुकारलाई निकै उचाइमा र्पुयायो । त्यसैगरी जानकी, चाहना मनको, सन्तान, अविश्वास, चिताको ज्वाला, आमाको मनलगायतका उनी अभिनीत टेलिचलचित्रहरू पनि कुनै समय चर्चामा रहे । समय, स्कुल, होस्टेल, सहारा, आयुलगायतका टेलिचलचित्रका साथै उनले दर्जनौं चलचित्रहरूमा पनि अभिनय गरे ।
रंगमञ्चबाट रजतपटमा आएका उनले के भो लौन नि, मिस्टर मंगले, किल्ला, रामप्यारी, जय मधेसलगायतका चलचित्रमा उनले अभिनय गरेका छन् ।
अहिले पहिलेको जस्तो स्तरीय टेलिचलचित्र आउन छाडेको कारण खुलाउँदै उनले भने, ‘अहिले टेलिभिजन च्यानलहरूले टेलिचलचित्र निर्माण गर्न सक्ने गरी पैसा दिनै छाडे । टेलिचलचित्रको एउटा भागका लागि कम्तीमा पनि दुई लाख आवश्यक पर्छ तर च्यानलहरूले ५० हजार अफर गर्छन् । अनि कसरी बन्छन् सिरिल? ’
‘यही क्षेत्रमा जीवन समर्पित गरेकाले निर्माणमा पनि हात हालेको हुँ तर मेरो पहिलो प्राथमिकता भनेको अभिनय नै हो’, झापामा जन्मेर राजधानीलाई कर्मथलो बनाएका पुकारले भने ।
सम्पूर्ण छायांकन राजधानीमै गरिएको गुनगुनमा सञ्चिता लुइँटेल, रवीनप्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, देशभक्त खनाल, राधा लम्साल, सुमेस श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । सचिन सिंह, विकास चौधरी र महाराजा थापाको संगीत, सौरभ लामाको छायांकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा एकराज उप्रेती, सहदेव पौडेल, मोहन भट्टराई, गणेश चापागाईं र जय चुँडालको लगानी छ ।

प्रेम र स्वार्थको भुमरीमा रुमलिएको कथा हो गुनगुन । प्रेमले मान्छेलाई अन्धो बनाउँछ । प्रेम नै संसार हो, प्रेम अमृत हो तर यही प्रेमले कहिलेकाहीँ विष पनि फालिरहेको हुन्छ । त्यसैले प्रेम सफल हुन यसलाई बुझ्न सक्ने मन चाहिन्छ, सामाजिक परिवेश पनि त्यस्तै चाहिन्छ । चलचित्रले यिनै विषय उठाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १२ : ०२ बजे