१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कथाकार लामिछानेलाई मीनपद्म पुरस्कार



मायादेवी अनलाइन, भैरहवा, कार्तिक ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्मजयन्ती तथा २०३ औं सिद्धार्थ साहित्य संगम भैरहवामा विशेष रुपले मनाइने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि कार्तिक २७ गते सोमबारका दिन देवकोटा जयन्ती विशेष रुपले मनाउनेगरी तयारी थालिएको आयोजक संस्था सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले जानकारी दिए ।
सो अवसरमा मीनपद्म गौचन स्मृति पुरस्कारबाट बरिष्ठ कथाकार प्रा.डा.कपिल लामिछानेलाइ सम्मान गरिने भएको छ । उक्त पुरस्कार समाजसेवी ओमकार गौचनद्वारा आफ्नो मातापिताको सम्मानमा स्थापित गरिएको हो । पुरस्कृत व्यक्तित्व लामीछानेले भाषा साहित्यको क्षेत्रमा दशकौंदेखी अनवरत रुपमा कलम चलाउदैं आएका छन् । उनका दर्जनौं पुस्तकहरु प्रकाशित छन् । उनी सिद्धार्थ साहित्य परिषदका पुर्व अध्यक्ष तथा प्रश्रित प्रतिष्ठान नेपालका हालका अध्यक्ष पनि हुन् ।
पुरस्कार स्थापना गर्ने गौचन सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा हाल भैरहवा क्षेत्रका नागरीक अगुवाहरुको संस्था बिएमजी ग्रुपका अध्यक्ष हुन् । यसैगरी सोही अवसरमा समाजका विविध क्षेत्रमा महत्वपुर्ण योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई सिद्धार्थ साहित्य सम्मान (२०७४) समर्पण गरिने पनि भएको छ ।
परिषदका सदस्य लक्ष्मी प्रसाद अधिकारीले दिएको जानकारी अनुसार तिलक लामिछाने, रामप्रसाद बराल, बाबुराम अर्याल, योगनाथ आचर्य, चन्द्रकान्त भट्टराई, कृष्ण गुरुंगलाई सिद्धार्थ साहित्य सम्मान प्रदान गरिने भएको छ । यसैगरी भैरहवाको रुपन्देही क्याम्पस र अंकुर बचत तथा क्रृण सहकारी संस्था लि. बैंकरोडलाई संस्थागत रुपमा सिद्धार्थ साहित्य सम्मान गर्न लागिएको हो ।
यसैबीच परिषदले कार्तिक २७ गते विहान ११ बजे लुम्बिनी निर्माण व्यवसायी संघको सभाहलमा हुने देवकोटाको १०९ औं जन्मजयन्ती तथा २०३ औं सिद्धार्थ साहित्य संगममा उपस्थित हुन सबै साहित्यअनुरागी महानुभावहरुलाई हार्दिक आमन्त्रण गरेको छ ।
सिद्धार्थ साहित्य परिषदले हरेक वर्ष देवकोटा जयन्ती, भानुजयन्ती विशेष रुपले मनाउने आएको छ । परिषदकै पहलमा भैरहवाको मुख्य चौंकको नाम देवकोटा चौंक नामकरण गरी त्यहां महाकविको पुर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ भने भैरहवा क्याम्पसमा अर्धकदको प्रतिमा राखिएको छ । यसैगरी भैरहवाको भानु विद्यालयको प्रांगणमा भानुभक्तको अर्धकदको प्रतिमा राखिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : १९ बजे