१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बहादुरगञ्ज र पुरुषोत्तम बालविवाह मुक्त



पार्वती पाण्डे, कपिलवस्तु ११ मंसिर ।
कपिलवस्तुको पश्चिमी भेगमा पर्ने साविक बहादुरगञ्ज र पुरुषोत्तमपुर गाविस बालविवाह मुक्त घोषित भएका छन् । आइतबार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी ती दुई गाविसलाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
बहादुरगञ्ज गाविस हाल कृष्णनगर नगरपालिकाको वडा नं. ८ र ९ कायम गरिएको छ भने पुरुषोत्तमपुर गाविस कृष्णनगर नगरपालिकाको वडा नं. ५ मा पर्छ । बहादुरगञ्ज र पुरुषोत्तमपुर गाविस समेत गरी हाल बालविवाह मुक्त घोषणा भएका गाविसहरु ६ वटा पुगेका छन् । जिल्लामा यसअघि बुद्धभूमि नगरपालिकाको वडा नं. ४, ५ र ९ (साविक हरिहरपुर, बुड्ढी र बरकुलपुर गाविस) बालविवाह मुक्त घोषित भइसकेका छन् । गाविसमा गठित बालक्लब, कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको पहलमा जिल्लाका साविकका ६ गाविसहरु बालविवाह मुक्त घोषणा भएको प्रायोजित कार्यक्रम संयोजक अजय कुमार चौधरीले जानकारी दिए ।
नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई वालबिवाह मुक्त घोषणा अभियानसँगै कपिलवस्तुमा पनि बालबिवाह मुक्त घोषण अभियानले तिब्रता पाएको हो । आइतबार आयोजित कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले समाजमा विकृतिको रुपमा रहेको बालविवाहलाई सदाका लागि अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । मधेशी र मुस्लिम समुदायमा अशिक्षा र चेतनाको अभाव नै बालविवाहको मुख्य जड भएकाले हरेक बालबालिकामा शिक्षाको ज्योति जगाउनुपर्ने उनले जिकिर गरे । नगरप्रमुख शाहले बालविवाह देशकै ठूलो समस्या रहेकोले यसमा स्थानीयहरु आफै सक्रिय भएर लागेमा छिट्टै अन्त्य हुने दावी गरे । “बालविवाहकै कारण अकालमै ज्यान गुमाउनुपर्ने, सम्बन्ध विच्छेद, स्वास्थ्य समस्याबाट ग्रसित हुनुपर्ने जस्ता भयावह समस्या आउने भएकाले यसबारे गाउँगाउँमा जनचेतना जगाउन आवश्यक रहेको छ, –उनले भने । यसैबीच नगरप्रमुख शाहले कृष्णनगर नगरपालिकालाई यसैवर्षभित्र बालविवाह मुक्त घोषणाको लक्ष्य राखेको जनाउँदै सम्पूर्ण संघसंस्था, नागरिक अगुवा, बालक्लब, युवाक्लब लगायतसँग सहकार्य गरी अभियानलाई तिब्रता दिइने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राममिलन चौधरीले लामो प्रयासपछि साविक वहादुगञ्जलाई वालबिवाह मुक्त घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गरे । सन् २०१५ मा वहादुगञ्जमा वालविवाहको सर्वेक्षण गर्दा २८ प्रतिशत वाल बिवाहको तथ्याङ्क आएकोले यो अन्त्य गर्नुपर्छ भन्ने अभियान लाग्दा आज अभियान सफल भएको बताए । यस वर्षमा साविक वहादुगञ्ज गाविस तथा हाल कृष्णनगर नगरपालिका वडा ८ र ९ मा वालबिवाहको सर्वेक्षण गर्दा २ प्रतिशतभन्दा कम भएको पाइएकोले बालबिवाह मुक्त घोषणा गरेको वडाध्यक्ष चौधरीको भनाई छ ।
यता कृष्णनगर नगरपालिका वडा न ५का वडाध्यक्ष मोहम्मद जमील खाँका अनुसार सन् २०१५ मा सर्वेक्षण गर्दा बालबिवाहको सख्या २४ प्रतिशत र सन् २०१६ मा सर्वेक्षण गर्दा ५.३ प्रतिशत बालविवाहको समस्या थियो । तर यस वर्षको सर्वेक्षण अनुसार शुन्य प्रतिशतमा झरेपछि बालविवाह मुक्त घोषणा गरिएको हो उनले भने । कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष सुन्दर केशव गुप्ताले बालविवाह मुक्त घोषणासँगै अबका दिनमा पनि यस क्षेत्रमा अभियानलाई निरन्तरता दिनुपर्ने बताए । कृष्णनगर नगरपालिकाको आयोजना तथा कालिका स्वावलम्वन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा कृष्णनगर नगरपालिकाका तीन वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ८ : ४८ बजे