१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

ओभरलोड माथि एक्सन लिदै ट्राफिक प्रहरी !



सीताराम चौधरी, चन्द्रौटा, ११ मंसिर ।
ट्राफिक नियम विपरीत संचालन भएका सवारीप्रति यतिबेला जिल्ला ट्राफिक प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
नदीजन्य पदार्थको निकासीसँगै यतिबेला जिल्लाका विभिन्न नाकामा टिप्पर तथा ट्रेक्टरले ट्रलीमा ढाला थप गर्ने र सडकमा पानी चुहाउँदै सवारी गुडाउने विकृति बढेपछि विशेष निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । बढी कमाउने उद्देश्य लिई ओभरलोड र पानी चुहाउँदै सडकमा होडबाजी गर्दै सवारी गुडाउँदा दुर्घटना बढेको, सडकको आयु ह्रास हुँदै गएको र वातावरणमा समेत प्रतिकूल प्रभाव परेको भन्दै कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
सवारी नियमको उलङ्घन गरेका सवारीलाई पटक पटक नियन्त्रण गर्न आग्रह गरेपनि समस्यामा कमी नआएपछि कडा कदम चालिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । यस बर्षको नयाँ ठेक्का पश्चात् नदीजन्य पदार्थ ढुंगा, गिट्टी तथा बालुवाको निकासी कारोबारसँगै बालुवा बोक्ने ट्रक, ट्रिपर तथा ट्याक्टरहरुले सडकमा अत्यधिक मात्रामा पानी चुहाउने र ट्रलीमा ढाला थप गरी स्वरुप परिवर्तन गरेका सवारी साधनमाथि कारवाही थालेको उहाँले बताउनुभयो ।
ट्रलीमाथि ढाला थप गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सवारी धनि वा सवारी चालकलाई नै थप ढाला कटाउन अनुरोध गरिंदै आएको उहाँले जनाउनुभयो । यति गर्दा पनि अटेर गरेमा आफैंले ढाला कटाई नियमानुसारको जरिवाना गरिने वा स्वरुप परिबर्तन गरेको कसुरमा यातायात ब्यबस्था कार्यालयमा जरिवाना तिर्नका लागि लेखापढी गरिने ट्राफिक प्रहरी निरीक्षक कार्कीले सवारीधनीलाई कडा चेतावनी दिनुभयो । यता सडकमा पानी चुहाउने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सुरक्षित स्थानमा राखी पानी चुहाउन लगाउने र नियमानुसारको जरिवाना गरिने बताएको छ ।
ट्राफिकले मंसिर पहिलो साता मात्र नियम उलङ्घन गर्ने सय बढी सवारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी छाडेको छ । राजमार्ग स्थित चन्द्रौटा, गोरुसिंगे र पिपरा क्षेत्रका विभिन्न सडक खण्डमा ढाला थप तथा पानी चुहाउने सवारी साधन कारवाहीमा परेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । बढी आयआर्जन गर्ने उद्धेश्यले नियम बिपरीत ढाला थप नगर्न र सडकमा पानी नचुहाई दिन सबै सवारीधनि, चालक तथा अन्य सरोकारवालामा जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ८ : ५२ बजे