१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कांग्रेस बुद्धभुमिमा पहिरो, दर्जनौ नेता एमालेमा प्रवेश !



मायादेवी अनलाइन, कपिलवस्तु, ११ मंसिर ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा कांग्रेसलाई धक्का लागेको छ । चुनावको मुखैमा कांग्रेसका स्थानीय तहका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेपछि कांग्रेसलाई धक्का लागेको हो । सोमबार बुड्ढीमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । बामगठबन्धन बुद्धभुमि नगरकमिटी ४ का निर्वाचन परिचालन समितिका संयोजक देवी बेल्वासेका अनुसार थरुहट पार्टीका दुई जना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा बड्ढीका नाथु प्रसाद थारु र टाकुका नाथु थारु रहनुभएको छ । दुवै नेता पूर्व नेपाली कांग्रेसका जिल्ला स्तरका नेता हुनुहुन्थ्यो । तर पछिल्लो समय कांग्रेस त्यागेर थरुहट पार्टीबाट उहाँहरुले राजनीति गर्दै आएको बताइएको छ । यसैगरि कार्यक्रममा नेपाली कांग्रेसबाट ढिकु थारु, प्रेम बहादुर दर्जी, भगवान दास थारु, जगदिश थारु, बेचन भर, भेषराज थारु, रामबल्ली थारु एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम खनालले कांग्रेसले अब देशको विकास गर्न नसक्ने बताउनुभयो । पटक पटक सरकारमा पुगेर पनि केही गर्न नसकेको कांग्रेसले अब विकासका झुठा आश्वसन दिन बन्द गर्नुपर्ने बताउनुभयो । क्षेत्रिय निर्वाचन परिचालन कमिटीका सहसंयोजक रुद्रलाल बञ्जाडेले यो देशको समृद्धि बामगठबन्धनले मात्र गर्न सक्ने बताउनुभयो । आदीबासी जनजाती, थारु, मुस्लिम, दलित, महिला, अल्पसंख्यकको हक अधिकारको लागि १० बर्षे जनयुद्ध गरेको बताउँदै अब मुलुमान सामन्तीहरुका दिन गैसकेको बताउनुभयो । कांग्रेसले अधिकारको लागि गरिएको जनयुद्धलाई विभिन्न अरोप लगाउँदै हिड्ने गरेको भन्दै नेता बञ्जाडेले कांग्रेस शोषक, सामन्ती विचारधाराको पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा २ का उम्मेदवार बुजेश कुमार गुप्ताले सूर्य चिह्नमा मतदान गरि भारी मतले जिताउन आग्रह गर्नुभयो ।
प्रदेशसभा १ का उम्मेदवार दीर्घनारायण पाण्डेले कांग्रेस विचार विनाको पार्टी भएको बताउनुभयो । कांग्रेसमा अहिले नाताबाद, कृपाबाद, जातीवाद, धनबाद र डनबाद हाबी भएको भन्दै बेलैमा कांग्रेसका असल कार्यकर्ता सचेत बन्नुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ४ का निर्वाचन परिचालन कमिटीका संयोजक देवी बेल्वासेको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नरहरी भट्टराईको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ११ : ५७ बजे