११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

लुम्बिनी बौद्ध विश्वविद्यालयले शैक्षिक कार्यक्रम विकेन्द्रीकरण गर्ने



लक्ष्मण पोखरेल, बुटवल, १५ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धसंग जोडिएको क्षेत्रमा शैक्षिक कार्यक्रम विकेन्द्रीकरण गर्ने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई अनुसन्धान केन्द्रको रुपमा राख्दै कपिलवस्तु, रामग्राम र देवदहमा अन्य शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाएको हो । १३ औैं विश्वविद्यालय दिवसको अवसरमा बिहिबार बुटवलमा ब्याचलर अफ बुद्धिजम, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयको कक्षारम्भ गर्दै उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले देवदह, तौलिहवा र रामग्राममा विषयगत विभाग स्थापना गर्ने योजना अघि बढेको बताए ।

विश्वविद्यालयका लागि देवदहमा ९९ सय विगाहा जमिन प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । विश्वविद्यालय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले लुम्बिनी विश्वविद्यालयका कक्षाहरु बुटवल क्षेत्रमा सञ्चालन हुनु महत्वपूर्ण कदम भएको बताए । नगरपालिकाले शैक्षिक गुरुयोजना निर्माणको काम गरिरहेको भन्दै सामाजमा खपत हुने जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक संस्था सञ्चालनमा जोड दिइने बताए । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले विश्वविद्यालयले चाहेमा विविटिटिएम कार्यक्रम सञ्चालन गर्ने भवनको निर्माण गर्ने जमिन उपलब्ध गराउन सकिने बताए । तिलोत्तमा नगरलाई शैक्षिक नगरीका रुपमा परिचित बनाउने योजना रहेको भन्दै विश्वविद्यालयलाई आवश्यक पर्ने जमिन जुटाउनका लागि आफू तत्पर भएको उनले बताए ।
कार्यक्रमा बोल्दै प्रो.डा. कृष्णचन्द्र शर्माले विश्वविद्यालयलाई ५ नम्बर प्रदेशको विकाससंग जोडेर अघि बढाउनुपर्ने बताए । मुलुकमा स्नातकोत्तर पढेका जनशक्ति बढ्दा पनि सामाजिक स्तर नबढ्नु शैक्षिक कार्यक्रमहरुको असफलता हुने भन्दै सामाजसंग आवद्धता भएको विषयहरु अवका विश्वविद्यालयले चलाउनुपर्ने उनले बताए ।
विश्वविद्यालयका रजिष्ट्रार तिलक आाचार्यले विश्वविद्यालयका न्युनतम पूर्वाधारहरु निर्माण भइसकेको भन्दै यसका शैक्षिक कार्यक्रम विस्तारको प्रक्रिया शुरु भएको बताए । डिन डा. भद्ररत्न बज्राचार्यले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण ह्ुने शैक्षिक कार्यक्रम बिबिटिटिएम बुटवलमा सञ्चालन गरिएकाले यसले सक्षम जनशक्ति तयार गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा विश्वविद्यालय सभाका सदस्य बिमलबहादुर शाक्य, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे, प्रगतिशील प्राध्यापक संघका महासचिव डा. खगराज शर्मा, बिबिटिटिएमा प्रोग्राम कोर्डिनेटर पावेल गौतम लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : २१ बजे