७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सामुदायिक वनप्रति उपभोक्ताको आकर्षण बढ्दै



सीताराम चौधरी, चन्द्रौटा, १५ मंसिर ।
पछिल्लो समय सामुदायिक वनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । समुदायकै प्रत्यक्ष निगरानीमा रहेको सामुदायिक वनको रेखदेख, संरक्षण र उपभोगको जिम्मेवारी पाएपछि उपभोक्ताको चासो बढेको हो ।
सामुदायिक वनबाट सजिलै र सहुलियत दरमा काठ, दाउरा, घाँस पाइने भएपछि सामुदायिक वनप्रति समुदायको सक्रियता बढेको एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूह शिवपुरका अध्यक्ष गुणानिधि घिमिरेले बताउनुभयो । अहिले उपभोक्ताहरु सामुदायिक वनका हरेक गतिविधिमा सहभागिता जनाउन थालेको अध्यक्ष घिमिरेको भनाई छ । “वन संरक्षणमा समुदायकै पहल भएकाले पछिल्लो समय सामुदायिक वन हराभरा बन्दै गएको छ ।” उहाँले भन्नुभयो –“अहिले चोरी, तस्करीमा समेत कमी आएको छ ।”
सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले पछिल्लो समय सामुदायिक वनबाट उपभोक्ताले प्रत्यक्ष लाभ पाउन थालेपछि वन संरक्षणमा समेत ठूलो सहयोग पुगेको बताउनुभयो । एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूहको चौथो साधारण सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष भट्टराईले वातावरण संरक्षण र स्वच्छ हावापानीका लागि वनजंगल जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक वन सबैको साझा सम्पत्ति भएकाले यसलाई नमूना बनाउन अझ चासो बढाउनुपर्नेमा जोड दिनुभयो । वनको आम्दानीबाट ३५ प्रतिशत गरीबी निवारण, ३० प्रतिशत वन व्यवस्थापन र बाँकी ३५ प्रतिशत शैक्षिक विकास, सामाजिक विकास लगायतका क्षेत्रमा लगाउन सकिने वन ऐनमा व्यवस्था रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा देविस्थान सामुदायिक वनका अध्यक्ष प्रशुनारायण चौधरी, नेपाल भूपू कल्याणकारी कोषका अध्यक्ष धनबहादुर के.सी., नेपाल हेवी ईक्वीपमेन्ट व्यवसायी संघ तथा जनआदर्श युवा क्लबका अध्यक्ष तिलक अधिकारी, ज्ञानज्योति प्रा.वि.का अध्यक्ष पुष्पराज अधिकारी, सरस्वती निमाविकी शिक्षिका शान्तिकुमारी के.सी. लगायतले उपभोक्ताहरुकै सक्रियताले अहिले सुरही सामुदायिक वन व्यवस्थित बन्दै गएकोमा शुभकामना दिँदै यसलाई जिल्लाकै नमूना बनाउन सबै उपभोक्ता जागरुक हुनुपर्नेमा जोड दिए । उनीहरुले सामुदायिक वनको व्यवस्थापन पक्षलाई बलियो बनाउँदै उपभोक्ताको आयआर्जन, बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका क्षेत्रमा समेत लगानी गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा वनका अध्यक्ष गुणानिधि घिमिरेले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष रामबहादुर बुढाले ३४ लाख ५६ हजार ३सय ७२ रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
वि.सं. २०६० सालमा दर्ता भएको एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूहमा अहिले १हजार ६६ घरधुरीका ६हजार २ सय ७० जनसंख्यालाई प्रत्यक्ष लाभ पुगेको छ । वनले ४सय ९४ दशमलव ५७ हेक्टर क्षेत्रफल ओगटेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : २५ बजे