२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

पञ्चायतमा उद्घाटन गरिएको अस्पताल अझै बनेन



दिपक अनुरागी, कृष्णनगर, १४ पुस ।
भारतीय सीमावर्ती कृष्णनगर बजार कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र हो । पश्चिम नेपालको बेलहिया सुनौली नाका पछि दोस्रो भन्सार नाकाको रुपमा पनि कृष्णनगरलाई लिने गरिन्छ । राज्यले यस नाकाबाट बार्षिक अरबौंको राजश्व संकलन गर्दै आएको छ । तर यहि कृष्णनगर बजार परिसरमा अस्पताल बनाउँन थालेको ५ दशक वितेको छ, निर्माण कार्य अझै पुरा हुन सकेको छैन । कृष्णनगरबासीलाई स्वास्थ्यउपोचार पु¥याउने उद्देश्यले विं.स. २०२७ सालमा तत्कालिन प्रधानमन्त्री सूर्य बहादुर थापाले कृष्णनगर अस्पतालको भवन उद्घाटन गरेका थिए । पञ्चायतको समयमा उद्घाटन भएको अस्पताल गणतन्त्र आइपुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । नेपाललाई बार्षिक अरबौं राजश्व उठाउने कृष्णनगर बजारमा अवस्थित अस्पताल आर्थिक अभावको कारण सञ्चालनमा आउन नसकेको बताइन्छ ।
निर्माणधिन अस्पतालको काम पुरा गर्न भनेर अहिले सम्म दुई ओटा समिति बनिसकेका छन । कृष्णनगरका समाजसेवी रुद्र प्रताप शाह निर्माधिन अस्पतालको २७ बर्ष अध्यक्ष भए । पञ्चायतको समयमा माननिय समेत भएका शाह अध्यक्ष बन्नु शिवाय केही नगरेको बजारबासी अरोप लगाउँछन । उनको त्यो कार्यकाल सकिए पछि हाल अस्पतालको अध्यक्ष कृष्णनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय कानोडिया छन् । उनको कार्यकाल पनि २० औँ बर्षमा लागेको छ । तर कुन पुस्ताको पालामा अस्पताल बन्ने हो बजारबासीलाई थाहा छैन । अस्पताल सञ्चालनको जिम्मेवारी लिएका ठुला बडा नेताले एकलौटी सम्पत्ती बनाउन खोजेको कारण अहिले सम्म अस्पताल बन्न नसकेको कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्ण कुमार गुप्ताको आरोप छ । उनि भन्छन्, ‘कुन पुस्ताले अस्पताल बनेको देख्न पाउने हो थाहा छैन । ’
झण्डै १ करोडको लागत लागिसकेको अस्पतालको भवनमा हाल कृष्णनगर नगरपालिका र इलाका प्रहरी कार्यालय कृष्णनगरको कार्यालय सञ्चालनमा छ । अस्पताल बन्ला र स्वास्थ्य उपचार पाइला भन्ने आशामा रहेका यहाँका सर्वसाधारण अहिले अस्पतालमा नगरपालिका र प्रहरी कार्यालय बसेको देख्दा निराश छन । अस्पतालमा नगरपालिका र प्रहरी कार्यालय विरामी बनेर आएको कृष्णनगरका विजय गुप्ताले व्यग्य गरे । सामान्य उपचारको लागि पनि आफुहरु भारतका विभिन्न ठाउँमा उपचार गर्न जान बाध्य भएको गुप्ताले गुनासो गरे ।
तत्कालीन समयमा कृष्णनगरका उद्योगी, व्यापारीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा अस्पताल सञ्चालनको लागि दर्ता गराएका थिए । बजारबासीको पहलमा सरकारी स्वामित्वमा आधारित रहि अस्पताल दर्ता प्रक्रिया अगाडी बढाएका हुन । अस्पताल निर्माणको लागि भनेर ९ सदस्यिय समिति बनाउने विधानमा उल्लेख छ । साथै अस्पतालको संरक्षकमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी उपरिक्षक रहने प्रावधान छ । प्रजिअ, स्थानीय विकास अधिकारी र प्रहरी उपरिक्षक सबै विवारिसे अस्पतालको संरक्षक हुन् ।
पहिले पहिले अस्पताल सञ्चालन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि नसुनेको कारण अहिले चुप लागेर बस्न बाध्य भएको अस्पतालका अध्यक्ष विजय कनोडिया बताउँन्छन् । करौडौ मुल्य बराबर सम्पत्ती रहेको अस्पतालको संरक्षण गर्ने दायित्व सरकारको भएको हुँदा सरकारीले अस्पताल बनाउने जिम्मा आफुले लिएको खण्डमा तत्काल छाड्ने अध्यक्ष कानोडिया दाबी गर्छन् ।
झण्डै ३३ कठ्ठामा अवस्थित अस्पताल निर्माणमा तत्कालिन कृष्णनगर गाविस र हालको कृष्णनगर नगरपालिकाले कुनै सहयोग नगरेको अस्पताल सञ्चालक समितिका सदस्यको दाबी छ । थोरै बजेटले केहि गर्न नसकिने हुँदा बजेट पार्न नसकिएको कृष्णनगर नगरपालिकाले जनाएको छ । कृष्णनगरपालिकाले पनि अधुरो निर्माणधिन अस्पतालको लागि रकम विनियोजन गरेको छैन । नगरपालिकाका मेयर रजत प्रताप शाहले सानोतिनो रकमले अस्पताल बन्ने छाँट नदेखिएको कारण बजेट नछुट्याएको बताउँछन । कृष्णनगरबासीको लागि एउटा सुविधा सम्पन्न अस्पतालको खाँचो छ उनले भने, “कहाँ कुन ठाउँ अस्पताल बन्छ त्यो अनुसन्धान गर्दै छौँ ।”

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  २ : १५ बजे