१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रतिष्ठानद्वारा थुनुवाका लागि न्यानो कम्बल



सीताराम चौधरी, चन्द्रौटा, १६ पुस ।
न्यानो ओढ्ने ओछ्याउने पाएका वडा प्रहरी कार्यालय चन्द्रौटाका थुनुवाहरुले ठूलो राहत महसुस गरेका छन् । केही दिनदेखि एक्कासी बढेको चिसो सिरेटोसँगै कष्टकर जीवन विताउन बाध्य थुनुवाहरु न्यानो विस्तरामा सुत्न पाएपछि बाँच्ने आशा जागेको बताएका छन् । थुनुवाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुले तमु ल्होसारको अवसर पारी कम्बल प्रदान गरेको हो ।
सबैभन्दा लामो र निकै चिसो रात मानिने पुस १५ मा कष्टकर जीवन विताउँदै आएका थुनुवाहरु मीठो निद्रामा सुत्न सकुन् भन्ने उद्देश्य राखी न्यानो ओढ्ने ओछ्याउने सहयोग गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताउनुभयो । स्वतन्त्र पूर्वक बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो, उहाँले भन्नुभयो– “प्रहरीको थुनुवा कक्षमा रहेका विभिन्न प्रकृतिका थुनुवाहरुलाई पनि गास, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा हुनुपर्छ ।” मानव अधिकारलाई महसुस गरी ९ जना साथीहरु मिलेर थुनुवा कक्षका लागि न्यानो कपडा सहयोग गरेको खतिवडाले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद खतिवडा, उपाध्यक्षद्वय भूमिराज भट्टराई, रमेश सुवेदी, सल्लाहकारद्वय फिलिप मोहम्मद, सुरज अधिकारी, सचिव खगेन्द्र गिरी, कोषाध्यक्ष ओमप्रकाश भण्डारी, प्रतिष्ठानका सदस्य एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती र स्थानीय सफर मियाको आर्थिक सहयोगमा ८ थान न्यानो कम्बल प्रदान गरिएको हो । कार्यक्रमसँगै प्रतिष्ठानका उपाध्यक्ष रमेश सुवेदीले वडाप्रहरी कार्यालयको दुईवटा थुनुवा कक्षमा ओछ्याउने न्यानो फम प्रदान गर्नुभयो । यस्तै कोषाध्यक्ष ओमप्रकाश भण्डारीले आफ्नो व्यक्तिगत रुपमा दुवै कोठालाई पुग्ने ओछ्याउने न्यानो तन्ना सहयोग गरेको बताइएको छ । शनिबार विहान प्रतिष्ठानका पदाधिकारीहरु वडा प्रहरी कार्यालय परिसरमा पुगी प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईलाई सामग्री हस्तान्तरण गरेका थिए ।
विस्तराका न्यानो सामग्री ग्रहण गर्दै प्रहरी निरीक्षक भट्टराईले प्रतिष्ठानका पदाधिकारीहरुको सहयोगले थुनुवाहरुलाई ठूला राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले प्रसंशनीय कार्य गरेको भन्दै प्रहरी निरीक्षक भट्टराईले प्रतिष्ठानका पदाधिकारीहरुलाई धन्यबाद दिंदै सामाजिक कार्यमा सहयोगी हातहरु निरन्तर अगाडि बढून् भनी शुभकामना दिनुभयो । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका पदाधिकारी तथा चन्द्रौटा क्षेत्रका संचारकर्मीहरुको उपस्थिति रहेको थियो । अहिले वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा अहिले विभिन्न प्रकृतिका ७ जना थुनुवाहरु रहेका छन् ।

 

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १२ : ३४ बजे