२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

कृषि केन्द्रित उद्योग खोल्न जरुरी छः विष्णु पन्थी



दिपक अनुरागी, जितपुर ।
प्रदेश सभा सदस्य विष्णु पन्थीले उद्योगको विकास विना देश विकास सम्भव नभएको बताउनुभएको छ । त्यसको लागि सरकार उद्योग वातावरण मैत्री रहेको जिकिर गर्नुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघको क्यालेण्डर विमोचन कार्यक्रममा शुक्रबार जितपुर चारनम्बरमा बोल्दै प्रदेशसभा सदस्य पन्थीले भन्नुभयो, ‘उद्योगको विकास विना देश विकास हुदैन, त्यसको लागि राज्य लगानी गर्न तयार छ ।’
नेपाल कृषि प्रधान देश भएकोले उद्योग, कलकारखाना पनि कृषि केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । दुई ठुला अर्थतन्त्रमा अगाडि रहेका देशको बीचमा नेपाल रहेकोले ठुलठुला उद्योग खोलेर प्रतिस्पर्धा गर्न गाह्रो हुने उहाँको तर्क थियो । ‘ हामीले ठुला ठुला उद्योग खोलेर चीन र भारत संग प्रस्पिर्धा गर्न सक्दैनौ उहाँले भन्नुभयो, ‘त्यसको लागि कृषिलाई आधार मानेर उद्योग स्थापना गर्न सके राम्रो हुन्छ ।’ खुल्ला अर्थतन्त्र भएको परिवेशलाई नेपालले अब टक्कर दिन नसक्ने उहाँको भनाई थियो । देश विकासका मुख्य मेरुदण्ड कृषि र पर्यटन मात्र भएको पन्थीको भनाई छ ।
प्रदेश नम्बर ५ का सम्भावित अर्थमन्त्रीको रुपमा हेरिएका प्रदेशसभा सदस्य पन्थीले सरकार र उद्योगी संग संगै हिडे मात्र देशविकास गर्न सकिने औल्याउनुभयो । ‘सरकार उद्योगी प्रति लगानी गर्न पछि पर्न हुन्न उहाले भन्नुभयो, “उद्योगी पनि सरकारका ऐन, नियम, कानुन अनुसार चल्नुपर्छ ।” नेपालमा उद्योगधन्दा प्रयाप्त नहँुदा गरिबी, वेरोजगारी बढ्दै गएको उहाँले बताउनुभयो । उद्योग, कलकारखानाले नै रोजगारी दिन सक्ने तर्क गर्नुभयो ।
राजनीतिक अस्थिरताको कारण उद्योगी व्यवसायिले लगानी गर्न हिच्किचाइरहेको भन्दै उहाँले अब राजनीतिक स्थिरता आउनेमा दाबी गर्नुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकार स्थायी भएकोले ढुक्क संग लगानी गर्न उद्योगीलाई आग्रह गर्नुभयो ।
कतिपय ऐन, निती, नियमले उद्योगीलाई झन्झटमा पार्ने गरेको उहाले सुनाउनुभयो । “उद्योगीले उद्योग खोल्न थाल्छ, विजुली, बाटोघाटोको समस्या हुन्छ, सरकारी प्रक्रिया निकै झन्झटिलो छ उहाले भन्नुभयो, “अब त्यस्ता झन्झिटिला प्रक्रियालाई परिवर्तन गरेर उद्योगी मैत्री वातावरणको सिर्जना गर्नुपर्छ, बल्ल मात्र उद्योगीले लगानी गर्छ ।”
तराईको खाद्यान्न उत्पादनमा अग्रस्थानमा रहेको कपिलवस्तु जिल्लालाई कृषि र पर्यटनको क्षेत्रबाट माथि उठाउँनुपर्नेमा उहाले जोड दिनुभयो । ‘बुद्धको जन्मस्थल कपिलवस्तुलाई विश्वले चिन्ने गरेपनि प्रयाप्त विकास हुन नसक्नु दुखत कुरा हो उहाले भन्नुभयो, “अब कुरा होइन काम गरेर देखाउने बेला हो ।” १ सय बढी बुद्धस्थल रहेको कपिलवस्तुलाई पर्यटनबाट आत्मनिर्भर बनाउने सकिने उहाले सुनाउनुभयो ।
प्रदेश सरकारले कृषि र पर्यटनलाई बढी जोड दिएको पन्थीले जानकारी दिनुभयो । पाँच नम्बर प्रदेश पर्यटन र कृषिको क्ष्ँोत्रमा धैरै अगाडि रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले वाणगंगा क्षेत्रलाई औद्योगीक करिडोरमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसको लागि खोज अनुसन्धान भैरहेको अध्यक्ष पौडेलको दाबी छ । भारतीय खुला सिमाना, फुटपाते व्यापारीको कारण आफुहरु मारमा परेको उहाँले गुनासो गर्नुभयो । उद्योगीहरुको पीडालाई राज्यको तर्फबाट सम्बोधन हुनेमा आफुहरु विश्वस्त रहेको उहाँको आशा छ ।
उक्त अवसरमा उद्योण वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, सल्लाहकार विष्णु न्यौपाने, टोप नारायण बेल्वासे लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  ११ : ०४ बजे