१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किन हुन्छन् विद्यार्थी सधै बेहोस, समाधानको उपाय के ?



केशर रोका, प्यूठान ।
कक्षा कोठामै विद्यार्थी बेहोस हुने समस्या अझै समाधान भएको छैन । गत असार ५ गते कक्षा कोठामै विद्यार्थी बेहोस हुने, रुने, कराउने गरेपछि अमृत जीवन माध्यमिक विद्यालय केही दिन बन्द गरिएको थियो । दुई महिना बित्दा समेत विद्यार्थीमा देखिएको समस्या समाधान हुन सकेको छैन । गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन मावीका विद्यार्थीमा देखिएको समस्या जस्ताको तस्तै छ । कक्षाकोठामै विद्यार्थी ढल्न थालेपछि पढाई प्रभावित भएको हो ।
शुरुमा ४७ जना विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । विस्तारै केहीलाई ठिक भए पनि पाँच÷सात जनालाई अझै निको हुन सकेको छैन् । हालै अभिभावक, शिक्षक र जनप्रतिनिधीसहितको वैठकले भुतप्रेतको शंका गरेको छ । ‘स्वास्थ्यकर्मीको टोली आएर जाँच गरे’, प्रधानाध्यापक रामचन्द्र गिरीले भने, ‘स्वास्थ्यकर्मीले कन्भर्सन डिसअर्डर भएको बताएका थिए । तर, पूर्ण रुपमा निको भएन ।’
सामूहिक रुपमा विद्यार्थीलाई जाँच गर्दा समस्या अझ बढ्नसक्ने स्वास्थ्यकर्मीले सुझाव दिएको उनले सुनाए । ‘धामी झाक्रीको पनि विश्वास गर्नुपर्ने अवस्था आयो’, गिरी भन्छन्, ‘चिसावाङको कुटीचौरमा हात हेराउने महिलालाई लिएर विद्यालयमा चारकिल्ला लगाउने निर्णय भएको छ ।’ आइतवार र मंगलवार विद्यार्थीलाई यस्तो समस्या अझ बढी देखिने गरेको छ । ‘जसो गरे पनि छोरीलाई निको भएन’, अभिभावक मैतबहादुर सुनारले भने, ‘अरु विद्यालयमा लगेर निको हुन्छ की भनेर पठायौं तर भएन ।’ दिनरात छोरीको चिन्ताले सताइरहेको उनको दुःखेसो गरे ।
विद्यालयमा आएर उनले छोरीलाई धेरै पटक सम्झाएका छन् । छोरीलाई टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने कुनै समस्या नभएको उनको भनाइ छ । एकोहोरो रुने, कराउने, काप्ने, हल्लिने, पेट दुख्ने, छटपटिने, मुटु दुख्नेजस्ता समस्या विद्यार्थीमा देखिएको छ । उनीहरु दैनिक दुई÷तीन घण्टा कक्षाकोठामा बस्नै सक्दैनन् ।
विद्यार्थीलाई निको हुने आशामा महिनौ वितेपछि विद्यालय हात हेराउन र चारकिल्ला लगाउन धामी बोलाउने निर्णयमा पुगेको हो । ‘अभिभावकको सल्लाहअनुसार भुतप्रेतको आशंकामा धेरैपटक पूजाआजा पनि ग¥यौं’, प्रधानाध्यापक गिरीले भने, ‘केही गरेपनि समस्या सुल्झिएन । झनै बल्झिदै गयो ।’ विद्यार्थीलाई समाल्न नसकेपछि अभिभावकलाई विद्यालयमा बोलाउने गरिएको उनले बताए । ६ देखि १६ वर्ष उमेर समूहका बालवालिकामा यस्तो समस्या देखिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  ५ : २० बजे