६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

स्ववियुको नगरस्तरिय खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न



मायादेवी अनलाइन, कपिलवस्तु ।

स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सिद्धार्थ क्याम्पस बाणगंगा बुङचीले नगरस्तरिय खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । हिजो सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा बिभिन्न १४ विद्यालय तथा क्याम्पसलाई पछि पार्दै बोडगाउँ स्थित चिल्ड्रेन प्याराडाइज बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी बाल मावि वैरियाले दोश्रो तथा सिद्धार्थ क्याम्पस बुङचीले तेस्रो स्थान हासिल गरेका छन् । विजयी स्कुल तथा क्याम्सलाई कार्यक्रमकी प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिकी उपसभापति तारावती चौधरीले नगद सहित सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपालको कला संस्कृतिको जगेर्नाको लागि तीजको विशेष भूमिका रहेको भन्दै स्ववियुले गरेको कार्यक्रमको प्रसंसा गर्नुभयो । उपसभापति चौधरीले पछिल्लो समय मुलुकमा महिला हिंसा तथा बलात्कारका घटना बढिरहेको भन्दै राज्यले त्यस्तो अपराध गर्नेलाई कडा कारबाही गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै स्ववियू सभापति शुशिल खत्रीले नेपाली हिन्दू नारीहरुको पर्व तीजको परम्परा र संस्कृति जगेर्ना गर्ने  र विद्यार्थीमा रहेको क्षमतालाई उजागर गर्ने उदेश्यले कार्यक्रमको आयोजना बताउनुभयो । कार्यक्रममा भाग लिएका सहभागीले महिला हिंसा, नारी अधिकार, देशप्रेमको भावलाई गीत तथा नृत्य मार्फत प्रस्तुत गरेका थिए ।

रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा नगर भित्रका १५ विद्यालय तथा क्याम्पसले सहभागिता जनाएका थिए  भने थानेश्वर अधिकारी, पूर्णचन्द्र परियार र मालती खरेलले निर्णायकको भूमिका निभाउनु भएको थियो ।

प्रतियोगी विद्यार्थीहरुले गीत तथा नृत्यमा महिला हिंसा, नारी अधिकार र नेपालको कला संस्कृति र देश प्रेम झल्कने खालको भाव प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : १९ बजे