१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

१३ बर्षिय बालकले कुरान शरिफ कण्ठ गरेपछि चौतर्फि चर्चा



अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु कृष्णनगरको एक मदरसामा अध्ययनरत १३ बर्षिय मुस्लिम बालकले कुरान शरिफ कण्ठ पारेका छन । कृष्णनगर नगरपालिका वडा नं. ३ मा अवस्थित मदरसा सिराजुल उलुम अलसल्फीयाको शाखा मदरसा जैदविन सावितमा अध्ययनरत जुवेद अहमद खाँले कुरान शरिफ कण्ठ पारेका हुन । ती बालक रुपन्देहीको सांस्कृतीक नगरपालिका वडा नं. ७ का हुन । उनी विगत केही बर्ष देखि कृष्णनगरमा रहेर मदरसामा अध्ययन गरिरहेको बताइएको छ ।
कुरान शरिफ कन्ठ गर्न कयौँ बर्ष लाग्ने गरे पनि ती बालकको कम उमेरमा कुरान कण्ठ पारे पछि मुस्लिम शिक्षक (मौलाना)हरु दंग परेका छन । मुस्लिम शिक्षकहरुले जिल्लामा पहिलो पटक यस्तो बालक भेटिएको प्रतिक्रिया दिएका छन ।
बालकले गरेको उपलब्धीलाई धेरैले प्रशंसा गरेका छन भने खुसी पनि व्यक्त गरेका छन । खाँले मदरसामा पढाउने मौलाना हाफीज तारिख रियाज सिराजी र प्रध्यानाध्यापक हाफिज अब्दुल रहिम सिराजीको सहयोगमा कुरान सरिफ कण्ठ गरेको बताइएको छ ।
बालकले गरेको उपलब्धीलाई सम्मान गर्दै दशै तिहार पछि एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको मदरसाका प्रवक्ता मौलाना मसहूद खाँ नेपालीले बताउनुभयो ।
राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकूफीले बालक र बिद्यालयको प्रसंसा गर्दै मदरसालाई शिक्षाको मूलप्रवाहिकरणमा ल्याइयो भने मदरसाका अरु बिद्यार्थी पनि सरकारी विद्यालय भन्दा कम नहुने बताउनुभयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  २ : ४४ बजे