३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

यस्ता पनि छन जनप्रतिनिधि ! जसले गाडी किन्ने पैसाले एम्बुलेन्स किने



दीपा महत, कपिलवस्तु ।
जनताले जिताएका जनप्रतिनिधीले जनताको लागि काम गर्नुपर्ने शुद्दोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले बताउनुभएको छ । गाउँपालिकाका अध्यक्ष भएर पनि सरकारी गाडीमा नचढी मोटरसाईकलमा चढ्ने खाँ कपिलवस्तुका एक मात्र प्रमुख हुनुहुन्छ । उहाँले आफुले गाडी किन्ने पैसाले सर्वसाधारणका लागि एम्बुलेन्स खरिद गरी दिनुभएको छ । मायादेवी अनलाइन संगको कुराकानीमा बोल्दै उहाँले मोटरसाइकल चढ्ने हैसियतको आफु भएको भन्दै आफुलाई गाडी चढ्न मन नलाग्ने बताउनुभयो ।
जनताले सामान्य व्यक्तिलाई गाउपालिका अध्यक्ष बनाएर सम्मान गरेको भन्दै गाडी चढेर आफु ठूलो मान्छे बन्न नचाहेको बताउनुभयो । जनताले ५ वर्षका लागि जनताकै लागि खट्न जिताएको भन्दै उहाँले सदैव जनताकै सेवामा घट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
७५ हजारमा चुनाव जितेको दाबी गर्दै गाउँपालिका प्रमुख खाले आफु विकासप्रेमी भएकै कारण जनताले जिताएको दाबी गर्नुभयो । स्वतन्त्र चुनाव जित्नुभएका खाले ५ वर्ष सम्म स्वतन्त्र भएरै जनताको माझमा काम गर्ने बताउनुभयो । आफुलाई विभिन्न दलबाट पाटी प्रवेशको अफर आएको भन्दै अहिले तत्काल कुनै पार्टीमा जाने मनस्थितीमा नरहेको बताउनुभयो ।
उहाँले मधेशका चर्चित नेताहरुले मधेशी जनतालाई ठगेर आफ्नो विल्डिङ खडा गरेको आरोप लगाउनुभयो । मधेशी र पहाडीया जनतालाई लडाएर मन्त्री पदमा पुग्ने नेता धेरै रहेको भन्दै जनताले त्यस्ता नेतालाई चिन्नुपर्ने बताउनुभयो ।
जनताले मधेसी नेतालाई विश्वास गरेपनि मधेशी नेताले घात गरेको आरोप लगाउनुभएको छ । उहाले मधेशी मात्र नभई नेपालका सबै नेता भारतको ईसारामा चल्ने पनि तर्क गर्नुभयो । नेपालमा जो प्रधानमन्त्री बनेपनि भारतकै भ्रमणमा पहिला निस्कने गरेको भन्दै ठूला दलहरु प्नि लम्पसारवादी भएको आरोप लगाउनुभयो ।
उहाँले शुद्धोधन गाउपालिकामा कर्मचारीतन्त्र हाबी नभएको भन्दै कर्मचारीकै कारणले गाउपालिकाको विकास भएको बताउनुभयो । आफुले एक्लै गाउपालिका चलाउन नसक्ने भन्दै सबैको साथ आवश्यक रहेको कुरामा जोड दिनुभयो । मधेशी समुदायका किशोरीहरु बीचमै पढाई छाड्ने गरेको भन्दै आफ्नो कार्यकालमा एउटा कन्या कलेज स्थापना गर्ने सोच रहेको सुनाउनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७५ सोमबार ००:००  ६ : ५६ बजे