१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजनीतिक विश्लेषक पौडेलले गरे प्रधानन्यायधिश जवराको खुलेरै प्रसंशा



मायादेवी अनलाइन, कपिलवस्तु ।
राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले न्याय क्षेत्रमा नसोचेको सुरुवात गरेको बताउनु भएको छ । प्रधानन्यायाधीश भए लगतै गठन भएको न्यायिक संयन्त्रले भटाभट खरो निर्णयहरु गर्दै सबैलाई आश्चर्यमा पारेको उहाँले बताउनुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको विहानी कार्यक्रम समय संवादसंग शुक्रबार विहान कुरा गर्दै विश्लेषक पौडेलले जबराको ऐतिहासिक कामको रुपमा ५ न्यायधिशमाथिको कारबाहीलाई महत्वपूर्ण रुपमा लिन सकिने बताउनुभयो ।
विवादका बीच प्रधानन्यायधिशमा नियुक्त हुनुभएका जबराले निकै खरो र दरो भएर साढे ३३ किलो सुनकाण्डमा दोषी ठहरिएका विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानेर सबैलाई अचम्ममा पारेको बताउनुभयो । उहाँको यो कदमले देश बच्छ कि भनेर आशा गर्ने ठाउँ रहेको पौडेलले बताउनुभयो ।
संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई सचिवालयमा तानेको हो । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।
विश्लेषक पौडेलले राजनीतिक दलका नेताले पार्टीको झोलामा रहेका व्यक्तिलाई प्रधानन्याधिशमा नियुक्त गर्ने परम्पराले नेपालको न्यायिक क्षेत्र तहस नहस भएको बताउँदै अन्तरिम संविधानबाट नै त्यसमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । फरक प्रसंगमा पौडेलले नेपालका प्रमुख राजनैतिक दलहरु सिद्धान्तहिन भएको, नाताबाद र कृपाबादमा रुमल्लिदँदै गएको भन्दै यिनीहरुले अब देशलाई निकास दिन नसक्ने उहाँको दाबी छ ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ३ : ०१ बजे