१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिकित्सा शिक्षा विधेयक : सत्तापक्ष पेलेर जाने सोचमा, विपक्षी रोक्ने दाउमा



काठमाडौं ।
चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा सत्तापक्षले पेलेर जाने तयारी गरेको छ । प्रतिनिधि सभामा विचाराधीन विधेयकलाई आज कुनै पनि हालतमा पारित गर्ने मनसायका साथ सत्तापक्षले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुन ह्विप जारी गरेको छ ।
नेकपाको यो तयारीले प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षबीच एकआपसमा भिडन्त हुने खतरा देखिएको छ । यही विधेयकको विषयमा डा गोविन्द केसीको १६ औं अनसन चलिरहेको समयमा जबरजस्ती विधेयक पारित गर्ने सरकारको तयारीका कारण प्रतिनिधि सभामा टकराव हुने खतरा देखिएको हो ।
हिजोको बैठकमै विधेयक पारित गर्ने तयारी सत्ता पक्षको भए पनि प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध गर्दा असम्भव भएको थियो । नेपाली कांग्रेसले केसीको माग पूरा हुनुपर्ने लगायत केही बुँदामा असहमति राख्दै विरोध गरेको थियो ।
सरकारले विगतमा गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित गराएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । तर सरकार भने केसीको सम्झौता पालना गर्नेभन्दा सार्वभौम संसदको हवाला दिंदै बलपूर्वक विधेयक पारित गर्ने तयारीमा रहेको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकले चिकित्सा विधेयक पारित गर्नेगरी आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि ह्पि जारी गरेको एक सांसदले बताएका छन् भने मन्त्रीपरिषदले मान्यता नदिएको दुई अस्पतालसम्बन्धी निर्णय नसच्चिएसम्म कार्यसूचीमा प्रवेश गर्न आफूहरुले नदिने कांग्रेस सांसदले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ३ : ३८ बजे