१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कृष्णनगर नगरपालिकाको उदाहरणीय काम, १४ सिफारिस दस्तुरमा शुल्क नलिइने



मायादेवी अनलाइन, कपिलवस्तु ।
देशका तीन तहका सरकारले करको बोझ थपेको भन्दै जनआक्रोस बढीरहेको बेला कपिलवस्तुको एक स्थानीय तहले भने जनतामैत्री निर्णय गरेको छ । जिल्लाको पश्चिम–दक्षिणी क्षेत्रमा अवस्थित कृष्णनगर नगरपालिकाले जनतामैत्री निर्णय गरेको हो । नगरपालिकाको तेस्रो नगरसभाबाट विभिन्न सिफारिस दस्तुर निशुल्क दिने निर्णय भएको नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।
नगरसभाबाट पारित भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा पत्र पठाइएको नगर प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार नागरिकता सिफारिस, प्रतिलिपि सिफारिस, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाईसराई दर्ता, सम्बन्ध विच्छेद दर्ता, स्वास्थ्य सम्बन्धि सिफारिस, भूकम्प लाभग्राही सिफारिस, उपभोक्ता खाता सञ्चालन सिफारिस, छत्रबृत्ती सिफारिस, द्धन्द्ध पीडित सिफारिस, अपाङ्गता सिफारिस, विभिन्न असाहय सिफारिस, स्वास्थ्य उपचारका लागि सिफारिस निशुल्क पाउन सकिनेछ ।
स्थानीय सरकार नागरिकको घरदैलो सरकार भएकोले जनतालाई निशुल्क सेवा दिनुपर्छ भन्ने मान्यताले यस्तो निर्णय लिइएको उहाँले बताउनुभयो । नागरिकको चाहना अनुसार चल्न सके मात्र नगरमा समृद्धि हासिल गर्न सकिने भन्दै नागरिकको लागि यस्तो निर्णय लिइएको शाहले बताउनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  २ : २१ बजे