८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कक्षा १२ को परीक्षामा चार लाख परीक्षार्थी सहभागी



काठमाडौं ।
आइतबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। परीक्षामा देशभरका एक हजार १०७ परीक्षाकेन्द्रबाट चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका छन्। परीक्षा बिहान सातदेखि १० बजेसम्म सञ्‍चालित हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट र सबैभन्दा कम मनाङ जिल्लाबाट रहेका छन्। काठमाडौंमा १२२ परीक्षाकेन्द्रबाट ६२ हजार ५८८ परीक्षार्थी छन् भने मनाङमा एक परीक्षाकेन्द्रबाट ५९ परीक्षार्थी सहभागी भएका छन्। वैशाख १५ बाट सञ्चालित परीक्षा २६ गते सम्पन्न हुनेछ। गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न‍पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा उक्त त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको छ। कक्षा १२ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ। यसैगरी, वैशाख २९ गते सुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहने परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार वैशाख २९ बाट सुरु हुने कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन्। कक्षा ११ र १२ का नौ लाख ३६ हजार परीक्षार्थीमध्ये चार लाख ४२ हजार ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्रा रहेको बोर्डले जनाएको छ। परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीको लागि परीक्षामा विशेष व्यवस्था गरिएको र कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा बोर्डले जनाएको छ।

प्रकाशित मिति : १५ बैशाख २०७६ आइतबार ००:००  १ : २२ बजे